Saturday, July 25, 2026
Zenith Migration Education
Saturday, July 25, 2026

भूक्षय रोक्न एक लाख ६० हजार बिरुवा निःशुल्क वितरण गरिँदै

Zenith Migration Education

मध्यविन्दु (नवलपरासी): हरियाली प्रवद्र्धनका साथै भूक्षय नियन्त्रण गर्ने उद्देश्यले डिभिजन वन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले २८ प्रजातिका एक लाख ६० हजारभन्दा बढी बिरुवा निःशुल्क वितरण गर्ने लक्ष्यका साथ सर्वसाधारणलाई बिरुवा बाँड्न सुरु गरेको छ । वन कार्यालयले कावासोती र गैँडाकोट गरी दुई वटा नर्सरीमा उत्पादित विभिन्न प्रजातिका बिरुवा वितरण थालेको हो ।

डिभिजन वन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)को परिसरमा रहेको डिभिजन नर्सरी र गैँडाकोट सब डिभिजन कार्यालयको सब डिभिजन नर्सरीमा हुर्काइएका एक लाख ६० हजार बिरुवा वृक्षरोपणका निमित्त निःशुल्क वितरण थालिएको डिभिजन वन कार्यालयका प्रमुख वसन्त केशव अधिकारीले बताउनुभयो । “नर्सरीमा बाँस, तेजपात, हर्राे, बर्राे, धूपी, कपुर, म्याडगोस्टिक, अशोक, शीतलचिनी, निम, रुख कटहर, अम्बा, टाँकी, बडहर, जामुन, कल्की, टिकुमा, टिक, किम्बु, बकाइनो, पिपल,, अमला, लप्सी, चिउरी, भटमास घाँसलगायतका बिरुवा रहेका छन्”, उहाँले भन्नुभयो । नर्सरीमा हुर्काइएका बिरुवा रोपणका निमित्त निःशुल्क वितरण थालिएको हो । कावासोती र गैँडाकोट गरी दुई वटा नर्सरीमा उत्पादित विभिन्न प्रजातिका बिरुवाको निःशुल्क वितरण थालेपछि बिरुवा लिन आउनेहरू बढेका छन् ।

विशेष गरी निजी जमिनमा बिरुवा माग गर्ने उपभोक्ताले सौन्दर्यजन्य धूपी, कल्की फूल, गोलमोहर, वीरेन्द्र फूल, कपुरजस्ता बिरुवा लैजाने गरेको प्रमुख अधिकारीले बताउनुभयो । “ कावासोतीमा यस वर्ष एक लाख दश हजार र गत वर्षको १४ हजार गरी एक लाख २४ हजार बिरुवा तयार भएका छन्, बाँकी गैँडाकोटमा हुर्काइएको हो”, उहाँले भन्नुभयो, “बहुवर्षीय रुखका बिरुवा, बहुवर्षीय डाले घाँसका बिरुवा, बहुवर्षीय फूलका बिरुवा, सुगन्धित, जडीबुटीजन्य बिरुवाका साथै भू–क्षय, कटान तथा पहिरो रोकथाम उपयोगी बाँस तथा अम्रिसो जातका बिरुवा तयार गरिएको छ ।” वन कार्यालयको नर्सरीबाट बिरुवा उपलब्ध गराउन थालिएसँगै अहिले बिरुवा लिन आउनेहरू बढेका छन् ।

लामो समयको खडेरीपश्चात् भर्खर मनसुन सक्रिय भएकाले अब बिरुवा रोप्दा जोगाउन सजिलो हुने भएपछि बिरुवा लिन आउने बढेका हुन् । निजी, सार्वजनिक तथा संस्थागत सबैलाई निःशुल्क रूपमा बिरुवा उपलब्ध गराउँदा वातावरणीय सन्तुलन, वातावरणीय सौन्दर्यीकरण, भू–क्षय तथा कटान रोकथाम, पशुको आहारा घाँस परिपूर्तिमा टेवा पुग्ने वन विभागका अधिकारीहरू बताउँछन् । कार्यालयले बिरुवा वितरण खुला गरेसँगै यहाँका विद्यालयले पनि वृक्षरोपणमा चासो देखाएका छन् । गत वर्षदेखि जिल्लाभित्रै नर्सरीमा बिरुवा उत्पादन भएपछि अन्य जिल्लाबाट पनि यहाँ बिरुवा लिन आउने बढेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु