डार्विन — अष्ट्रेलियाको डार्विनमा नेपाली राहदानी नवीकरण सेवा आजदेखि सुरु भएको छ। २० देखि २३ मार्चसम्म सञ्चालन हुने यो सेवा कार्यक्रम गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया र नेपलिज एसोसिएसन अफ नर्दर्न टेरिटोरीको समन्वयमा आयोजना गरिएको हो।

डार्विनस्थित मालाक क्षेत्रमा रहेको एमसिएनटी हलमा सञ्चालन भइरहेको उक्त कार्यक्रममार्फत प्रवासमा रहेका नेपालीहरूलाई छिटो, सहज र व्यवस्थित रूपमा राहदानी नवीकरण सेवा प्रदान गरिँदैछ। कार्यक्रममा अष्ट्रेलियास्थित नेपाली दूतावासको प्रत्यक्ष सहकार्य रहेको छ भने मल्टिकल्चरल काउन्सिल अफ द नर्दर्न टेरिटोरीले समेत सहयोग पुर्याएको छ।

आयोजकका अनुसार सेवाग्राहीहरूको उल्लेखनीय सहभागिता देखिएको छ र सेवा प्रक्रिया प्रभावकारी रूपमा अघि बढिरहेको छ। सीमित समयका लागि सञ्चालनमा रहेको यस सेवाबाट अधिकतम लाभ लिन सेवाग्राहीहरूलाई आवश्यक कागजातसहित निर्धारित समयमा उपस्थित भई सेवा लिन अनुरोध गरिएको छ।

यसैगरी, आवेदन फाराम समयमै भरी आवश्यक विवरण पूरा गर्न पनि आग्रह गरिएको छ, जसले सेवा प्रक्रिया थप छिटो र सहज बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।



