इलाम केवल हरियालीले ढाकिएको पहाड मात्र होइन, यो मेहनती मानिसहरूको संघर्ष, सम्भावना र आत्मसम्मानको कथा हो। बिहान चियाको बगानबाट उठ्ने सुवासदेखि साँझ पहाडमाथि फैलिने सुनौलो आकाशसम्म यहाँको जीवन सरल छ, तर अवसरले भरिएको छ। यही अवसरलाई दीर्घकालीन विकासमा रूपान्तरण गर्ने अठोटका साथ उभिएका छन् इलाम क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुहाङ नेम्वाङ।
नेकपा (एमाले) का युवा नेता सुहाङ नेम्वाङ छोटो समयमै इलामेली जनताको भरोसायोग्य प्रतिनिधिका रूपमा स्थापित भएका छन्। करिब १६ महिनाको सीमित संसदीय कार्यकालमै उनले सक्रियता, इमानदारी र उत्तरदायित्वको उदाहरण प्रस्तुत गरे। उनी बारम्बार दोहोर्याउँछन्—गएको अवधिमा इलाम र इलामेली जनताको पक्षमा नखटेको कुनै दिन थिएन। यही आत्मविश्वासका साथ उनी भन्छन्, पाँच वर्षको पूर्ण अवसर पाए प्रत्येक वडामा गरेका काम र परिवर्तनका कथासहित फेरि मत माग्न आउनेछन्।
सुहाङ नेम्वाङको जन्म १७ फेब्रुअरी १९९० मा काठमाडौँमा भएको हो। उनी संविधानसभाका अध्यक्ष तथा प्रतिनिधिसभाका पूर्वसभामुख स्वर्गीय सुवासचन्द्र नेम्वाङका कान्छा सुपुत्र हुन्। राजनीतिक संस्कार, लोकतान्त्रिक मूल्य र राष्ट्रिय जिम्मेवारीको भावना उनले परिवारबाटै आत्मसात् गरे। बाल्यकालदेखि नै राजनीतिक वातावरणमा हुर्किए पनि उनले आफ्नो पहिचान अध्ययन, पेशा र कर्मबाट निर्माण गर्ने बाटो रोजे।
उनले जगत मन्दिर माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि ज्ञानोदय बालबाटिकाबाट उच्च माध्यमिक शिक्षा पूरा गरे। उच्च अध्ययनका लागि अस्ट्रेलिया पुगे पनि स्वदेश फर्केर काठमाडौँ स्कूल अफ लमा कानूनी अध्ययन गरे। उनले कला तथा कानूनमा स्नातक उपाधि हासिल गर्नुका साथै वाणिज्य कानूनमा विशेषज्ञता सहित कानूनमा स्नातकोत्तर उपाधि प्राप्त गरे। कानूनी शिक्षाले उनलाई संविधान, शासन प्रणाली, नीति निर्माण र सार्वजनिक उत्तरदायित्वबारे गहिरो समझ प्रदान गर्यो। यही पृष्ठभूमिले उनलाई संसदमा विधेयक र नीतिगत बहसमा स्पष्ट र परिपक्व धारणा राख्न सक्षम बनायो।
राजनीतिमा औपचारिक प्रवेश गर्नु अघि उनी कानूनी व्यवसायमा सक्रिय थिए। थापागाउँ, काठमाडौँमा कान्तिपुर ल एशोसिएट्स एन्ड रिसर्च सेन्टर स्थापना गरी उनले व्यावसायिक तथा संवैधानिक मुद्दाहरूमा वकालत गरे। उनी नेकपा (एमाले) को कानूनी विभागका केन्द्रीय सदस्यका रूपमा पनि सक्रिय रहे। यस क्रममा उनले संघीयता, शासन सुधार, संवैधानिक व्याख्या र नीतिगत बहसमा योगदान दिए। यही अनुभवले उनलाई व्यवस्थापिका र कार्यपालिकाबीचको सम्बन्ध, कानूनी सुधार र सुशासनका विषयमा स्पष्ट दृष्टिकोणसहित अघि बढ्न आधार दियो।
२०८० सालमा स्वर्गीय सुवासचन्द्र नेम्वाङको निधनपछि इलाम क्षेत्र नं. २ मा उपनिर्वाचनको अवस्था सिर्जना भयो। भावनात्मक र राजनीतिक रूपमा संवेदनशील परिवेशमा सुहाङ नेम्वाङ उम्मेदवार बने। २७ वैशाख २०८१ मा सम्पन्न उपनिर्वाचनमा उनले २७ हजार ७७२ मत प्राप्त गर्दै उल्लेखनीय मतान्तरले विजय हासिल गरे। उनको चुनावी अभियान राजनीतिक निरन्तरता, युवा सहभागिता र सुशासन सुधारमा केन्द्रित थियो। जनताले उनलाई केवल विरासतका कारण मात्र होइन, आफ्नो काम गर्ने अठोट र स्पष्ट दृष्टिकोणका कारण मत दिए।
प्रतिनिधिसभा सदस्यको रूपमा उनले करिब १६ महिना मात्र काम गर्ने अवसर पाए। तर त्यो समय उनले निष्क्रिय बिताएनन्। करिब सात महिना इलाममै बसेर घरदैलो, जनसुनुवाइ र स्थानीय समस्याको प्रत्यक्ष अध्ययन गरे। बाँकी समय मन्त्रालय, सरकारी कार्यालय, अस्पताल र अन्य निकायमा धाउँदै इलामका मुद्दा उठाए। उनले पूर्वाधार विकास, सुशासन, उत्पादन वृद्धि र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखे। यद्यपि पूर्वनिर्धारित मार्गचित्र र समयरेखा अनुसार सबै काम सम्पन्न हुन सकेन, तर उनले इमानदार प्रयास गरेको तथ्य जनताको सामु स्पष्ट रहेको दाबी गर्छन्।
उनको राजनीतिक शैली आरोप–प्रत्यारोपमा आधारित छैन। उनी भन्छन्, अब जिन्दाबाद र मुर्दाबाद होइन, योजना र संकल्पमा बहस गरौं। घरदैलो अभियानका क्रममा उनले किसानसँग खेतमा मकै गोड्ने, चिया टिप्ने, तरकारी रोप्ने र अलैची स्याहार्ने काममा साथ दिए। वृद्ध आमाबुवाको आशीर्वाद, युवाको उत्साह र बालबालिकाको निष्कपट मायाले उनलाई ऊर्जा दिएको उनी बताउँछन्। यही प्रत्यक्ष सम्बन्धले उनलाई इलामको माटोसँग जोडिएको नेता बनाएको छ।
इलाम लोकतान्त्रिक आन्दोलन र क्रान्तिको उर्वर भूमि हो। पञ्चायती व्यवस्थाविरुद्ध संघर्ष गर्ने सहिद रत्नकुमार वान्तवा, बमप्रसाद वान्तवालगायतका वीरहरूको योगदानप्रति उनले सधैं सम्मान व्यक्त गरेका छन्। संविधान निर्माणको ऐतिहासिक जिम्मेवारी वहन गर्ने सुवासचन्द्र नेम्वाङप्रति श्रद्धा व्यक्त गर्दै उनले उनका सिद्धान्त, विचार र सपना पूरा गर्ने संकल्प दोहोर्याएका छन्। २०७९ को निर्वाचनमा जनताले सुवासचन्द्र नेम्वाङलाई २०८४ सम्मका लागि निर्वाचित गरे पनि आकस्मिक निधनले त्यो कार्यकाल अधूरो रह्यो। उपनिर्वाचनबाट सुहाङलाई पठाइए पनि छोटो कार्यकालका कारण धेरै योजना पूर्ण हुन सकेनन्। अब ती अधुरा योजना पूरा गर्ने दृढ अठोटसहित उनी पुनः उम्मेदवार बनेका छन्।
आगामी निर्वाचनलाई लक्षित गर्दै उनले सुशासन, भौतिक पूर्वाधार विकास, उत्पादन र रोजगारी सिर्जनालाई मुख्य प्राथमिकता बनाएका छन्। कानूनी पृष्ठभूमिको आधारमा संस्थागत सुधार, पारदर्शिता र उत्तरदायी शासन प्रवर्द्धन गर्ने उनको प्रतिवद्धता छ। सडक, शिक्षा, स्वास्थ्य र डिजिटल पूर्वाधार विस्तारमार्फत इलामलाई पूर्वी नेपालको सशक्त आर्थिक केन्द्र बनाउने दृष्टि उनले अघि सारेका छन्। चिया, अलैची, तरकारी र अन्य कृषि उत्पादनको मूल्य अभिवृद्धि, साना तथा मझौला उद्योग प्रवर्द्धन र युवामैत्री नीति निर्माणमार्फत स्थानीय रोजगारी सिर्जना गर्ने उनको लक्ष्य छ। युवालाई निर्णय प्रक्रियामा सहभागी गराई नयाँ पुस्तालाई नेतृत्वको अवसर दिने वाचा पनि उनले गरेका छन्।
सुहाङ नेम्वाङको राजनीति भावनात्मक विरासत र व्यावहारिक कार्ययोजनाको संयोजन हो। उनी बारम्बार भन्छन्, जनताको विश्वास र भरोसाले रसाएका आँखा भोलि आफ्नो काम देखेर खुशीका आँशु बग्ने दिन आउनुपर्छ। यही भावनालाई शक्ति मानेर उनी पाँच वर्षको पूर्ण अवसर पाए इलामलाई सुशासन, दिगो विकास र आत्मनिर्भर अर्थतन्त्रको मार्गमा अघि बढाउने अठोटमा छन्।
आज सुहाङ नेम्वाङ केवल उम्मेदवार मात्र होइनन्। उनी इलामको आशा, निरन्तरता र विश्वासको प्रतीकका रूपमा उभिएका छन्। विरासतको सम्मान गर्दै नयाँ पुस्ताको नेतृत्वमा इलामको भविष्य निर्माण गर्ने यात्रामा उनी युवा ऊर्जा, स्पष्ट दृष्टि र इमानदार प्रतिबद्धतासहित अघि बढिरहेका छन्।



