Saturday, April 18, 2026
Zenith Migration Education
Saturday, April 18, 2026

बुढासुब्बा गोल्डकप : धरानको पहिचान, युवाका लागि सुनौलो अवसर

Zenith Migration Education

धरान (सुनसरी) । बुढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता सुरु हुन केही दिन मात्र बाँकी रहँदा धरानमा प्रतियोगिताबारे चर्चा चुलिएको छ । प्रत्येक वर्ष आयोजना हुँदै आएको बुढासुब्बा गोल्डकपले खेलकुद प्रवर्द्धन मात्र नभई धरानको आर्थिक, सामाजिक तथा सांस्कृतिक पक्ष उजागर गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।

धरानलाई खेलकुदको सहरको रूपमा चिनाउन बुढासुब्बा गोल्डकपले महत्त्वपूर्ण योगदान पुर्‍याएको आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले बताए । “धरानलाई खेलकुदको सहर भनेर चिनाउन बुढासुब्बा गोल्डकपले ठूलो योगदान पुर्‍याएको छ, यसको वर्णन गरेर सकिँदैन”, अध्यक्ष तामाङले भने, “नेपालका प्रतिष्ठित क्लबहरूसँगै अन्तर्राष्ट्रिय टिमहरूको सहभागिता रहने यस प्रतियोगिताले खेल क्षेत्रको विकास, खेलाडीहरूको क्षमता अभिवृद्धि तथा स्थानीय युवा पुस्तालाई प्रेरित गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ ।”

विगत वर्षहरूमा १२ टिमसम्म सहभागी गराइएको बुढासुब्बा गोल्डकप विभिन्न कारणले केही समय आठ टिममा सीमित रहँदै आएकामा यस वर्ष भने १० टिमको सहभागिता रहनेछ । तामाङले भने, “यस वर्ष दश टिमको सहभागितामा यही माघ २२ गतेदेखि २६औँ संस्करणको प्रतियोगिताको सुरु हुँदैछ, यो हामी सबैका लागि खुसीको कुरा हो ।”

प्रतियोगिताबीचमा कोरोना महामारीका कारण दुई वर्ष आयोजना हुन नसके पनि त्यसपछि भने निरन्तर रूपमा सञ्चालन हुँदै आएको छ । बुढासुब्बा गोल्डकप धरानका लागि एउटा पहिचानजस्तै बनेको छ । अध्यक्ष तामाङले भने, “प्रतियोगिता सञ्चालनमा आर्थिक पक्ष पनि महत्त्वपूर्ण हुन्छ, हामीले प्रत्येक वर्ष बुढासुब्बा गोल्डकपको स्तर वृद्धि गर्न गम्भीर भएर लागेका छौँ ।”

यस वर्ष धरान उपमहानगरपालिकाले पहिलो र दोस्रो पुरस्कारको रकम सहयोग गर्ने भएपछि प्रतियोगिता सञ्चालन केही सहज भएको उनको भनाइ छ । फुटबलप्रेमीहरूको माग र चाहनाअनुसार यस वर्ष टिम सङ्ख्या आठबाट बढाएर १० पुर्‍याइएको अध्यक्ष तामाङले जानकारी दिए । यस वर्षको बुढासुब्बा गोल्डकपले फुटबलप्रेमीहरूलाई थप मनोरञ्जन दिने अपेक्षा गरिएको छ ।

कोशी पहाडको प्रवेशद्वारका रूपमा परिचित धरान सौखिन, ‘फेसनेबल’ र लाहुरेको सहरका रूपमा परिचित छ । पछिल्लो समय भने धरान खेलकुदप्रेमीहरूको सहरका रूपमा समेत परिचित हुँदै गएको छ । यसमा बुढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको भूमिका महत्त्वपूर्ण रहेको खेलप्रेमीहरूको भनाइ छ ।

बुढासुब्बा गोल्डकप सुरु भएसँगै धरानमा फुटबल तथा खेलप्रतिको आकर्षण उल्लेखनीय रूपमा बढेको छ । अन्य खेलहरूको पनि आफ्नै महत्त्व भए पनि बुढासुब्बा गोल्डकप नेपालकै पुरानो तथा सम्मानित फुटबल प्रतियोगितामध्ये एक मानिन्छ । प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा धरानलाई योगदान पुर्‍याएको छ ।

बुढासुब्बा गोल्डकपले धरानलाई मात्र नभई यहाँका खेलाडीहरूलाई पनि चिनाएको अध्यक्ष तामाङले बताए । “आज नेपालका ‘ए’ डिभिजन क्लबहरूमा धरानका खेलाडीले प्राथमिकता पाएका छन् । सयौँ युवाले फुटबललाई भविष्य बनाएका छन्”, उनले भने ।

अहिले धरानका विभिन्न फुटबल एकेडेमीहरूमा सयौँ युवा प्रशिक्षणरत छन् । राष्ट्रिय खेलाडी बन्ने सपना बोकेर उनीहरू फुटबलकै माध्यमबाट देश चिनाउने लक्ष्यसहित अभ्यासमा जुटिरहेका छन् ।

राष्ट्रिय खेलाडी बन्ने सपना बोकेका सोलुखुम्बुका १५ वर्षीय प्रजल भुजेल छ वर्षको उमेरदेखि नै फुटबलप्रति आकर्षित हुँदै आएको बताउछन् । बुढासुब्बा गोल्डकप खेल्ने सपना बोकेका भुजेल हाल धरान एन्फा एकेडेमीमा नियमित अभ्यासरत छन् । “गाउँमा गल्लीहरूमा फालिएका मोजामा कपडा खाँदेर बनाइएको बल खेल्थ्यौँ”, उनले भने, “कहिलेकाहीँ बारीमा फलेका भोगटे टिपेर पनि साथिहरूसँग फुटबल खेल्थ्यौँ, राष्ट्रिय फुटबल खेलाडी बन्ने ठूलो लक्ष्य छ ।”

प्रकृति सौन्दर्य र सांस्कृतिक विविधताले भरिपूर्ण धरानलाई खेलकुदको थप पहिचान दिलाउन बुढासुब्बा गोल्डकपले सहयोग गर्दै आएको छ । धरान उपमहानगरपालिका–१५ का सागर घिमिरेले सानै उमेरदेखि खेलाडी बन्ने सपना बोकेर फुटबल खेल्न सुरु गरे । चार वर्षको उमेरदेखि फुटबल सुरु गर्नु भएका घिमिरे हाल बुढासुब्बा गोल्डकपमा कोचको भूमिकासमेत निर्वाह गर्दै आएका छन् । उनले फुटबलमै भविष्य देख्नुभयो, अहिले पनि यसै खेलमा छन् ।
घिमिरेले बुढासुब्बा गोल्डकपमा मात्रै २३ पटक कोचको भूमिका निर्वाह गरिसकेका छन् । “लाहुरे बन्ने सपना पनि थियो, तर धरान फुटबल क्लबबाट फुटबल खेल्न थालेपछि त्यो सपना त्यागे”, उनले भने । हालसम्म ताइवान, भुटान, चीनलगायत देशमा फुटबल लिग खेलिसक्नुभएको घिमिरे आफ्नो सफलताको श्रेय बुढासुब्बा गोल्डकपलाई दिन्छन् ।

उनकाक अनुसार अहिले हरेक सहरको गल्लीगल्लीका युवाहरू केबल गोल हानिरहेका मात्र छैनन्, उनीहरू जीवनमा गोल सेट पनि गरिरहेका छन् । फुटबल भनेको खेल मात्र नभएर धेरैको सपना हो । त्यो सपना गल्लीदेखि सुरु हुन्छ र एकेडेमीजस्तो ठाउँमा आएर आकार लिन्छ ।

खेलले सफल खेलाडीलाई राम्रो आर्थिक लाभ, प्रसिद्धि तथा विभिन्न अवसर प्रदान गर्ने भएकाले फुटबललाई पेशाका रूपमा अपनाउन सकिने अवस्था बनेको छ । यही कारणले पछिल्लो पुस्ताका युवाहरू खेलकुद, विशेषगरी फुटबलतर्फ बढी आकर्षित हुँदै गएको आयोजक धरान फुटबल क्लबका महासचिव नवीन राईले बताए । फुटबल खेलले शारीरिक रूपमा स्वस्थ राख्नुका साथै सहनशीलता, शक्ति, गतिशीलता तथा मानसिक रूपमा पनि तन्दुरुस्त बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।

महासचिव राईका अनुसार बुढासुब्बा गोल्डकप ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको प्रतियोगिता हो । यस प्रतियोगिताको नाम धरानको ऐतिहासिक तथा धार्मिकस्थल बुढासुब्बा मन्दिरसँग जोडिएको छ । उनले भने, “बुढासुब्बा गोल्डकपले धरानलाई खेलकुदको सहरका रूपमा मात्र नभई पर्यटनको केन्द्रका रूपमा स्थापित गर्नमा ठूलो योगदान छ ।”

“अहिले बुढासुब्बा गोल्डकप धरानको एउटा सानका रूपमा उभिएको छ”, उनले भने । बुढासुब्बा गोल्डकपले खेलकुदको विकाससँगै युवा खेलाडीलाई आवश्यक ‘प्लेटफर्म’ प्रदान गर्नुका साथै राष्ट्रिय फुटबलको स्तर सुधारमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको आयोजकको भनाइ छ । धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङका अनुसार प्रतियोगिताले खेलाडीलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन र फुटबललाई लोकप्रिय बनाउन ठूलो सहयोग पुर्‍याएको छ ।

प्रत्येक वर्ष आयोजना हुने बुढासुब्बा गोल्डकप सञ्चालन गर्न करिब रु एक करोड बराबरको लगानी लाग्ने गर्दछ । जसमध्ये केही प्रतिशत सहयोग स्थानीय सरकारबाट प्राप्त हुन्छ भने बाँकी रकम हङकङ, बेलायत, सिङ्गापुरलगायत विभिन्न देशमा रहेका सहयोगी व्यक्तिहरूको चन्दा तथा सहयोगबाट जुटाइनेछ । बुढासुब्बा गोल्डकप हेर्न सुनसरीका विभिन्न स्थानसँगै प्रदेशका मोरङ, धनकुटा, झापा, इलाम, पाँचथर, सङ्खुवासभालगायत जिल्लाबाट समेत खेलप्रेमी दर्शकहरू धरान आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु