सिड्नी । अस्ट्रेलियाका सङ्घीय तथा राज्य सरकारहरूबीच सार्वजनिक अस्पताल प्रणालीको सुधारका लागि पाँच वर्षको ऐतिहासिक बजेट सम्झौता भएको छ । सम्झौताअनुसार सङ्घीय सरकारले आगामी जुलाईदेखि सार्वजनिक अस्पताल र स्वास्थ्य सेवामा २१९.६ अर्ब अस्ट्रेलियन डलर खर्च गर्ने घोषणा गरेको छ ।
प्रधानमन्त्री एन्थोनी अल्बानिजले नयाँ पाँच वर्षे सम्झौताअन्तर्गत सार्वजनिक अस्पताल तथा स्वास्थ्य सेवाका लागि कीर्तिमानी २१९.६ अर्ब अस्ट्रेलियन डलर (१५३.८ अर्ब अमेरिकी डलर) विनियोजन गरिने जानकारी दिए । यो सम्झौता आगामी जुलाई महिनादेखि कार्यान्वयनमा आउनेछ ।
प्रधानमन्त्री अल्बानिजका अनुसार यो रकम अघिल्लो सम्झौताभन्दा २५ अर्ब अस्ट्रेलियन डलर (१७.५ अर्ब अमेरिकी डलर) बढी हो । सम्झौतासँगै लामो समयदेखि जारी सङ्घीय तथा राज्य सरकारबीचको वार्ता टुङ्गिएको छ ।
यसअघि डिसेम्बरमा राज्य तथा क्षेत्रीय सरकारहरूले सङ्घीय सरकारको २३ अर्ब अस्ट्रेलियन डलरको प्रस्ताव अस्वीकार गरेका थिए ।
अस्ट्रेलियन मेडिकल एसोसिएसनले यस सम्झौताको स्वागत गरेको छ । तर केवल बजेट वृद्धिले मात्र स्वास्थ्य प्रणालीको खस्कँदो कार्यसम्पादन सुधार गर्न नसकिने भन्दै आवश्यक संरचनागत सुधार पनि अनिवार्य रहेको चेतावनी दिएको छ ।



