दक्षिण कोरिया । दक्षिण कोरियाको नर्थ चुङच्योङ प्रान्तअन्तर्गत उमसेओङ काउन्टीमा रहेको घरेलु सामान उत्पादन गर्ने एक कारखानामा शुक्रबार दिउँसो भीषण आगलागी भएको छ। आगलागीका क्रममा एक नेपालीसहित दुई जना कामदार फसेको आशङ्का गरिएको छ।
कारखानामा कार्यरत ८३ जना कर्मचारीमध्ये ८१ जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको अधिकारीहरूले जनाएका छन् । बेपत्ता हुनेहरूमा करिब २० वर्षका एक नेपाली युवक र ५० वर्षका उज्बेकिस्तानका एक नागरिक रहेका छन् ।
अग्नि नियन्त्रकहरूले आपतकालीन प्रतिक्रिया स्तरलाई ‘लेभल–२’ मा पुर्याउँदै आगो नियन्त्रण तथा खोजी कार्यलाई तीव्र बनाएका छन्। उक्त कारखानामा वेट वाइप्स र डायपर उत्पादन हुने गर्दछ भने त्यहाँ कुनै हानिकारक रसायन प्रयोग नगरिने बताइएको छ ।
आगो पूर्ण रूपमा नियन्त्रणमा आएपछि आगलागीको कारण र क्षतिको विस्तृत अनुसन्धान गरिने सम्बन्धित अधिकारीहरूले बताएका छन् ।



