Tuesday, April 21, 2026
Zenith Migration Education
Tuesday, April 21, 2026

तोकिएकै मितिमा निर्वाचनको तयारी पूरा : गृहमन्त्री

Zenith Migration Education

जनकपुरधाम । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनपछि देशमा अभिभावकीय भूमिका नरहेको अवस्थामा गैरदलीय नागरिक सरकारको बनेको स्पष्ट पार्दै यसको अहिलेको प्रमुख कार्यभार भनेकै देशमा सुशासन कायम गर्दै तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु रहेको बताएका छन् ।

मधेश प्रदेश सरकार, गृह मन्त्रालय र प्रदेशकै गृह, सञ्चार र कानुन मन्त्रालयको संयुक्त आयोजनामा मधेश प्रदेशको राजधानी जनकपुरधाममा बुधबार प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन मन्तव्यमा बोल्नुहुँदै उनले सो कुरा बताएका हुन् ।

गृहमन्त्री अर्यालले यो नागरिक सरकार भदौ २३ र २४ गतेको घटना पश्चात् देशमा अभिभावकीय भूमिका नरहेको अवस्थामा वर्तमान सरकार निर्माण भएको र जेनजी पुस्ता र तत्कालीन दलीय सहमतिमै अहिलेको प्रधानमन्त्रीको नेतृत्वमा सरकार गठन भएको अवस्था स्पष्ट पारे ।

उनले भने, “यो नागरिक सरकार भएकैले पनि नागरिक र युवापुस्ताको जनभावना अनुरूप सहकार्य र समन्वयमा अघि बढिरहेको छ त्यसैले पनि यो सरकार निष्ठा र इमानदारिताबाट किञ्चित पछि हट्दैन ।’’

यस्तै, विशेष अतिथिको रूपमा आफ्ना उद्घाटन मन्तव्य राख्नु हुँदै मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आजको गोष्ठीले मधेश प्रदेशको समग्र सुरक्षा अवस्था र आगामी निर्वाचनका लागि तय गरिनु पर्ने सुरक्षा रणनीति र निर्वाचन सफल पार्न फलदायी हुने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री यादवले हालै तराईका केही क्षेत्रमा देखिन खोजेको धार्मिक साम्प्रदायिकता र जेनजी आदोलनपछि भएका भौतिक पूर्वाधारमा क्षति, लुटिएका हतियार र फरार कैदी बन्दी जस्ता सुरक्षा चुनौतीलाई गोष्ठीले सम्बोधन गरी समान धारणा बनाउने कुरा व्यक्त गरे । उनले प्रदेश प्रहरी समायोजन र सङ्घीय प्रहरी ऐनको आवश्यकता औँल्याउँदै, प्रदेशको प्रहरी भएन भन्ने नकारात्मक भाष्य बन्दै गएको र सङ्घको प्रहरी प्रदेशको अर्थात् (हाम्रो) हुन नसकेको प्रति कटाक्ष व्यक्त गरे ।

मधेश प्रदेशका गृह, कानुन तथा सञ्चार मन्त्री फकिर महतोले प्रदेश प्रहरी ऐनको आवश्यकता औँल्याउँदै, प्रदेश प्रहरी समायोजनको कार्य अघि बढ्न नसक्दा प्रदेश संरचनामा नदेखिने रूपले सुरक्षा चुनौती थपिँदै गएको बताए ।

स्वच्छ नियमनका लागि खुला सिमाना चुनौतीको रूपमा देखा परेको बताउँदै, मन्त्री महतोले भने, “त्यसका लागि जिल्ला प्रहरी र प्रदेश प्रहरीबिच र सशस्त्र प्रहरीबिच पनि समन्वयको आवश्यकता रहेको छ ।’’

उनले आजको गोष्ठी हाल सुरक्षा क्षेत्रमा देखिएका समस्याको पहिचान र यसका समाधानका लागि पनि फलदायी हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु