सल्यान । भारतको हिमाचल प्रदेशस्थित अर्की क्षेत्रमा ग्यास सिलिन्डर विस्फोट हुँदा नौ जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुने सबै सल्यान जिल्लाको सिद्धकुमाख गाउँपालिका–२ टाकुराका दुई परिवारका सदस्य रहेको पारिवारिक स्रोतले पुष्टि गरेको छ ।
सोमबार राति २ बजे उनीहरू सुतिरहेको कोठामा राखिएको ग्यास सिलिन्डर अचानक विस्फोट हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
सिद्धकुमाख गाउँपालिका–२ का वडा सदस्य लक्ष्मी विकका अनुसार दुर्घटनामा ज्यान गुमाउनेहरूमा ३३ वर्षीय धनबहादुर विक, उहाँकी ३२ वर्षीया श्रीमती कविता विक, १६ वर्षीया छोरी राधा विक, १० वर्षीया छोरी रेणुका विक र २२ महिनाका छोरा राजन विक रहेका छन् । यस्तै अर्को परिवारका ४६ वर्षीय काशीराम विक, उहाँकी ३२ वर्षीया श्रीमती टीका विक, ११ वर्षीया छोरी अनु विक र ७ वर्षीय छोरा किरण विकको मृत्यु भएको छ ।
हालसम्म पाँच जनाको शव फेला परेको र बाँकी शवको खोजी कार्य जारी रहेको बताइएको छ । विस्फोटका कारण शवहरू तितरवितर भएकाले सबैको औपचारिक पहिचान प्रक्रिया पूरा हुन नसकेको जनाइएको छ । घटनास्थलमा स्थानीय प्रशासन तथा सुरक्षाकर्मीले उद्धार र अनुसन्धान कार्य जारी राखेका छन् । उनीहरू करिब दुई वर्षदेखि रोजगारीका लागि भारतमा बस्दै आएका थिए ।
एकै गाउँका नौ जनाको एकैपटक मृत्यु भएपछि सिद्धकुमाख गाउँपालिका वडा नम्बर २ शोकमा डुबेको छ । गाउँभरी शोकको वातावरण छाएको छ भने आफन्त तथा छिमेकीहरू स्तब्ध बनेका छन् । वडा अध्यक्ष मेकराज बुढाथोकीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मङ्गलबार वडा शोक सभा आयोजना गरिने जानकारी दिनुभयो ।



