सिड्नी । सिड्नीमा आइतबार सम्पन्न सर्वाधिक धनराशिको तेस्रो सिपिए विल्सन इन्टरनेसनल महिला तथा पुरुष भलिबल कपको उपाधि पुरुषतर्फ म्याग्दी जलजला परिवार अस्ट्रेलिया र महिलातर्फ म्याग्दीकाली युनाइटेडले जितेका छन् ।
छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए) को आयोजनामा सम्पन्न प्रतियोगिताको पुरुषतर्फको फाइनलमा म्याग्दी जलजला परिवार अस्ट्रेलियाले म्याग्दीकाली युनाइटेडलाई सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो ।
उपाधिसँगै जलजलाले चार हजार चार सय ४४ अस्ट्रेलियन डलर नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता म्याग्दीकाली युनाइटेडले दुई हजार दुई सय २२ अस्ट्रेलियन डलर, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।
त्यस्तै, महिलातर्फ म्याग्दीकाली युनाइटेडले मंगला समाजलाई ३–१ सेटमा पराजित गर्दै उपाधि जितेको थियो । उपाधिसँगै म्याग्दीकाली युनाइटेडले एक हजार सात सय अस्ट्रेलियन डलर नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता मंगला समाजले आठ सय अस्ट्रेलियन डलर हात पारेको छ ।



