Friday, April 17, 2026
Zenith Migration Education
Friday, April 17, 2026

सिड्नी आध्यात्मिक महोत्सव सम्पन्न

Zenith Migration Education

सिड्नी (अष्ट्रेलिया) । गत शुक्रबारदेखि सुरु भएको सिड्नी आध्यात्मिक महोत्सव २०२५ आइतबार सम्पन्न भएको छ । नेपाली समुदायको साझा सपना, नेपाली बहुसांस्कृतिक तथा सामुदायिक केन्द्र (GSNMC) निर्माण गर्ने उद्देश्यसहित सिड्नीमा आयोजना गरिएको तीन दिने सिड्नी आध्यात्मिक महोत्सव आइतबार साँझ सम्पन्न भएको हो ।

महोत्वसको पहिलो दिन शुक्रबार १२०८ कलश यात्रा, पञ्चकन्या, पञ्चेबाजासहित करिब १५ सयको उत्सहापूर्ण सहभागिता रहेको थियो । यस अवसरमा सिड्नीका ५० भन्दा बढी सामुदायिक संघसंस्थाको उपस्थिति रहेको थियो ।

कलश यात्रापछि आयोजित औपचारिक कार्यक्रममा प्रमुख अतिथिका रुपमा अष्ट्रेलियास्थित नेपाली दूतावासका प्रतिनिधि कुलबहादुर मगरले शुभकामना मन्तव्य दिए । कार्यक्रममा न्यू साउथ वेल्स प्रिमियर क्रिस मिन्सका तर्फबाट बहुसांस्कृतिक मामिलासम्बन्धी संसदीय सचिव माननीय मार्क बटीगेग, मन्त्रीका प्रतिनिधि जेसन यात–सेन ली, सङ्घीय सांसद स्याली सिटो, बरउड मेयर जोन फाकेरका तर्फबाट काउन्सिलर सुकीर्ति भट्ट र एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले पनि महोत्सवको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

त्यस्तै, महोत्सवको पूर्वसन्ध्यामा पूज्य बौद्ध धर्मगुरु टुल्कु सोनाम रिम्पुचे र वाचन प्रविण दीनबन्धु पोख्रेलबाट आशीर्वचन प्रदान गरिएको थियो । साथै भरतनाट्यमलगायत विविध धार्मिक र सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो ।

यसैगरी, महोत्वसको दोस्रो दिन शनिबार पण्डित राजन शर्माद्वारा योगसत्र सञ्चालन गरिएको थियो । साथै पण्डित दीन बन्धु पोख्रेलको भागवत वाचन, विभिन्न सामुदायिक संघ–संस्थाका प्रस्तुति, दान ग्रहण तथा आजीवन सदस्यता वितरणसहितका कार्यक्रम गरिएको थियो ।

त्यस्तै, नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान र गोरखा समाज अष्ट्रेलियाले संस्थागत सदस्यता लिएका थिए भने सोही दिन १११ जनाले आजीवन सदस्यता ग्रहण गरेका थिए ।

महोत्वसका तेस्रो दिन आइतबार नेपाली संस्कृतिको झल्को दिने विविध सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो । बालबालिकादेखि वृद्धसम्मको उत्साहपूर्ण सहभागिता र सामूहिक सन्ध्या आरतीले महोत्सवलाई थप भव्य बनाएको थियो ।
बरउड पार्कमा आयोजना भएको महोत्सवको अन्तिम दिन मध्यह्नदेखि राति करिब ८ बजेसम्म भक्तजन, श्रद्धालु र समुदायका अगुवाहरूको बाक्लो उपस्थिति रहेको थियो भने भजन–कीर्तन, ध्यान–प्रार्थना, प्रवचन, सांस्कृतिक प्रस्तुति र सामुदायिक संवादले महोत्सवलाई अझ आकर्षक बनाएको थियो ।

यसक्रममा दुई सयभन्दा बढी व्यक्तिले आजीवन सदस्यता आवेदन दर्ता गरे भने ६१ जना दाताबाट करिब १२ लाख २० हजार अष्ट्रेलियन डलर दान प्रतिबद्धता प्राप्त भएको छ । यसै दिन दान पेटिकाबाट २४ सय डलर नगद सङ्कलन भएको पनि आयोजकहरूले जनाएका छन् । तीन दिनसम्म चलेको महोत्सवमा पाँच सयभन्दा बढी व्यक्तिले आजीवन सदस्यता लिएका छन् भने करिब २० लाखभन्दा बढी अष्ट्रेलियन डलर दान प्रतिबद्धता सङ्कलन भएको छ । यससँगै GSNMC को आजीवन सदस्य सङ्ख्या एक हजार नाघेको आयोजकले जनाएको छ ।

आयोजक समितिले महोत्सवमा उपस्थित दाताप्रति आभार व्यक्त गर्दै, विभिन्न कारणले प्रत्यक्ष उपस्थित हुन नसकेकाहरूलाई पनि अभियानमा निरन्तर जोडिन आग्रह गरेको छ ।

नेपाली पहिचान, संस्कृति र अध्यात्मिकताको संरक्षण तथा प्रवर्धनका लागि “सिड्नीमा मिनी नेपाल निर्माण गर्ने सपना” साकार पार्न सबै समुदायलाई GSNMC ले सहयोगका लागि आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु