Wednesday, April 15, 2026
Zenith Migration Education
Wednesday, April 15, 2026

सिड्नी म्याराथन २०२५ मा सहभागी हुन आएका नेपाली अन्तर्राष्ट्रिय धावक सम्मानित

Zenith Migration Education

सिड्नी (अष्ट्रेलिया) । सिड्नीको नर्थवेस्ट नेप्लिज रनर्सले सिड्नी म्याराथन २०२५ मा सहभागी हुन आएका नेपाली अन्तर्राष्ट्रिय धावकहरूलाई सम्मान गरेको छ । द पन्ड्स पार्क रनपछि शनिबार आयोजित कार्यक्रममा समितिका अध्यक्ष बिकेन्द्र अधिकारीले धावकहरूलाई नेपाली झण्डा अङ्कित खादा ओढाएर सम्मान गरेका हुन् ।

कार्यक्रममा व्यवसायी तथा म्याराथन धावक किशोरराज अर्यालले धावक सन्तोष राईको योगदानको प्रशंसा गर्दै उनले खेलकुदमार्फत नेपाली पहिचानलाई विश्वभर पुर्‍याएको बताए ।

त्यस्तै, ५० वर्षको उमेरमा दौड सुरु गरी हालसम्म सयभन्दा बढी अन्तर्राष्ट्रिय म्याराथन पूरा गरिसकेका वरिष्ठ धावक आत्माराम दाहालले स्वस्थ जीवनका लागि दौड महत्त्व रहेको बताए ।

धावक सन्तोष राईले पनि आफ्ना धारणा व्यक्त गर्दै दैनिक दौड स्वास्थ्य र फिटनेसका लागि अमूल्य अभ्यास भएको बताउँदै आफ्नो मेहनत अरूका लागि प्रेरणा बन्न सक्नु गर्वको विषय भएको बताए ।

राई यसअघि लन्डन म्याराथन २०२५ मा दौरा–सुरुवाल र ढाका टोपी लगाएर ४२.१९५ किमी दूरी २ घण्टा ५९ मिनेट ४७ सेकेन्डमा पूरा गर्दै गिनिज वर्ल्ड रेकर्ड कायम गरेका थिए । यस ऐतिहासिक उपलब्धिले उनलाई मात्र होइन, सम्पूर्ण नेपाली समुदायलाई अन्तर्राष्ट्रिय स्तरमा सम्मानित बनाएको छ ।

राईले खेलकुदलाई समुदायसँग जोड्ने उद्देश्यले Nepal Run UK र Dharan Run सुरु गरेका हुन् । २०११ मा धरानमा २५ जना धावकबाट सुरु भएको Dharan Run अहिले सयौँ धावकलाई नियमित रूपमा आकर्षित गर्ने सफल अभियान बनेको छ, जसमा कतिपय समयमा हजारभन्दा बढी धावक सहभागी हुने गरेका छन् । द पन्ड्स पार्क रनमा  सिड्नीका विभिन्न क्षेत्रमा बसोबास गर्ने ५० भन्दा बढी नेपाली धावक तथा धाविकाहरू सहभागी थिए ।

यसैबीच, सिड्नी म्याराथन २०२५ आज  ३१ अगस्टमा हुँदैछ । करिब ३५ हजार धावक सहभागी हुने अनुमान गरिएको यस प्रतियोगिता अष्ट्रेलियाको इतिहासमै सबैभन्दा ठूलो म्याराथन मानिन्छ । हालै यस म्याराथनलाई World Marathon Majors मध्ये एकको मान्यता दिइएको छ, जसले यसलाई अझ प्रतिष्ठित बनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु