सिड्नी (अष्ट्रेलिया) । आज अष्ट्रेलियाका विभिन्न शहरमा ‘March for Australia’ नामक र्याली हुँदैछ । र्यालीका आयोजकहरूले आप्रवासी प्रवेश रोक्नुपर्ने माग अघि सारेका कारण बहुसांस्कृतिक समुदायबीच चिन्ता बढेको छ।
समुदायका अगुवाहरूले र्यालीका क्रममा आप्रवासी तथा विविध सांस्कृतिक पृष्ठभूमि भएका समुदायलाई लक्षित गर्ने सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेका छन् । विशेषगरी नेपालीसहितका आप्रवासी समुदायका सदस्यलाई सकेसम्म र्याली हुने स्थानतर्फ नजान सुझाव दिइएको छ ।
त्यस्तै, र्यालीका क्रममा कुनै पनि अप्रिय परिस्थिति जस्तै : दुर्घटना, हमला, आगजनी, स्वास्थ्य आपतकाल लगायतका अवस्थामा ००० मा सम्पर्क गर्न सकिने छ । यसमा कल गर्दा सिधा Police, Ambulance वा Fire Service मध्ये आवश्वकय सेवा जडान हुने बताइएको छ ।
आप्रवासन विरोधी भावना र विभाजनलाई प्रवर्द्धन गर्ने यी र्यालीहरू अष्ट्रेलियालाई परिभाषित गर्ने बहुसांस्कृतिकता, समावेशीता र सामाजिक सद्भावको मूल्यमान्यता विपरीत रहेको बताइएको छ ।
त्यसो त केही दिन अगाडि अष्ट्रेलिया सरकारकाले आप्रवासीविरुद्ध आज (आइतबार) अगस्ट ३१ मा हुने लागेको ‘March for Australia’ नामक प्रदर्शन र र्यालीको कडा विरोध गरेको थियो ।
प्रधानमन्त्री एन्थोनी अल्बनेजेको नेतृत्वमा सांसदहरूले संयुक्त वक्तव्य जारी गर्दै अष्ट्रेलियामा बसोबास गर्ने जो–कोहीलाई सुरक्षित र सम्मानित महसुस गर्ने अधिकार रहेको र कुनै पनि जातीय घृणा फैलाउने गतिविधिलाई असौय सहन नहुने बताएका थिए ।
त्यस्तै, यसअघि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पनि विज्ञप्ति जारी गर्दै यसको विरोध गरेको थियो ।



