Wednesday, April 15, 2026
Zenith Migration Education
Wednesday, April 15, 2026

दासप्रथाका अवशेष अन्त्य गर्न सरकारले गम्भीर प्रयास गरिरहेको छः मन्त्री गुरुङ

Zenith Migration Education

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकबाट दासप्रथाको पूर्ण अन्त्य गर्न सरकारले गम्भीर प्रयास गरिरहेको बताएका छन् ।

शनिबार यहाँ नेकपा (एमाले) बागमती प्रदेश सम्पर्क कमिटीको आयोजनामा सम्पन्न ‘समृद्ध बागमतीका लागि युवा सहभागिता’ विषयक वक्तृत्वकला प्रतियोगितामा उनले इतिहासमा दासप्रथा औपचारिक रूपमा अन्त्य भए पनि कतिपय ठाउँमा त्यो प्रवृत्तिका अवशेष बाँकी रहेको बताए ।

मन्त्री गुरुङले चन्द्र शमशेरले औपचारिक रूपमा दासप्रथा अन्त्य गरे पनि ग्रामीण तथा दुर्गम भेगमा यस प्रथाको प्रभाव अझै कायम रहेको बताउँदै त्यसलाई पूर्ण रूपमा निर्मूल पार्नका लागि सरकार निरन्तर लागिपरेको स्पष्ट पारे । उनले भने, “दासप्रथा उहिल्यै अन्त्य भइसकेको इतिहासमा उल्लेख छ, तर अझै पनि केही ठाउँका समाजमा यस्ता अवशेष जीवितजस्तै देखिन्छन् । यस्तो अवशेष अन्त्य गर्न नीतिगत तथा व्यावहारिक रूपमा काम भइरहेको छ ।”

नेपाली समाजले सामन्ती व्यवस्था पार गरेर अब पुँजीवादी संरचनातर्फ गइरहेको धारणा राख्दै मन्त्री गुरुङले सामाजिक व्यवहार, परम्परा र जीवनशैलीमा आएको रुपान्तरणलाई पुँजीवादी परिवर्तनसँग जोडेर हेर्नुपर्ने धारणा राखे । उनले यस्तो रुपान्तरण सकारात्मक हो कि नकारात्मक भन्ने बहस खुला रहेको जनाउँदै समाजका हरेक परिवर्तनलाई विवेकपूर्ण तरिकाले मूल्याङ्कन गर्न जरूरी रहेको बताए ।

एक अर्को प्रसङ्गमा मन्त्री गुरुङले एमालेको ‘मिसन ८४’ अभियानलाई सफल बनाउन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व अपरिहार्य रहेको बताए । प्रधानमन्त्री ओलीको नेतृत्वमा मात्र देशले राजनीतिक स्थायित्व र समृद्धिको यात्रा तय गर्न सक्ने उनको भनाइ थियो ।

कार्यक्रममा एमाले नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले देश विकासको मेरुदण्डका रूपमा रहेका युवालाई अघि सार्नुपर्ने भन्दै युवावर्गलाई पनि सकारात्मक सोच तथा राष्ट्रप्रतिको जिम्मेवारीका साथ अघि बढ्न आह्वान गरे । “देश विकास गर्ने हो भने अब युवा अग्रसर हुनुपर्छ, रोजगारी छैन भनेर देश छाड्ने होइन, बरु यही अवसर खोज्नुपर्छ, अवसर सिर्जना गर्नुपर्छ”, पण्डितले भने ।

प्रतियोगितामा बागमती प्रदेशका ११ जना युवा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु