Tuesday, April 14, 2026
Zenith Migration Education
Tuesday, April 14, 2026

महिलालाई आत्मनिर्भरतातर्फ अघि बढाउन अवसर सिर्जना गर्नुपर्छ : पूर्व राष्ट्रपति भण्डारी

Zenith Migration Education

पर्सा । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले महिला उद्यमशीलतालाई सम्मान गर्दै आत्मनिर्भरतातर्फ अघि बढाउन महिलाका लागि अवसरहरू सिर्जना गर्नुपर्नेमा जोड दिएकी छन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघद्वारा आज आयोजित ‘नारीस् शक्ति, समर्पण र सम्मान’ विषयक बृहत् महिला सम्मेलनको उद्घाटन गर्दै पूर्व राष्ट्रपति भण्डारीले परिवार निर्माणदेखि उद्योग–व्यवसाय, शिक्षा, स्वास्थ्य र सामाजिक रूपान्तरणसम्म महिलाको योगदान सधैँ अग्रपङ्क्तिमा रहँदै आएको बताइन् । उनले महिलालाई आत्मनिर्भर बनाउन अवसरसँगै सबैको ऐक्यबद्धता आवश्यक पर्ने खाँचो औँल्याइन् ।

उनले महिला शक्ति केवल परिवारको हिस्सा मात्रै नभएर सम्पूर्ण समाजको प्रगतिको आधार भएकाले महिला उद्यमशीलतालाई सम्मान र प्रोत्साहन गर्नुपर्ने धारणा राखिन् । पूर्व राष्ट्रपति भण्डारीले वीरगञ्जजस्तो व्यापारिक केन्द्रमा उद्यमशीलताको विकास गर्न महिला नेतृत्वले अग्रणी भूमिका खेल्नुपर्नेमा जोड दिइन् । “महिलामा उद्यमशीलताको विकास गर्नु व्यक्तिगत सफलता होइन । सिंगो देशको अर्थतन्त्रलाई सुदृढ गराउनु पनि हो”, उनले भनिन् ।

“महिला आफू सक्षम बनेर आगामी पुस्तालाई प्रेरणा दिने गरी अगाडि बढ्नुपर्छ”, उनले भनिन्, “हाम्रो समाजमा अझै बाँकी रहेको लैंगिक असमानता, पूर्वाग्रह र अवरोधहरूलाई तोड्दै समाज परिवर्तनमा सकारात्मक र उपयोगी भूमिका निर्वाह गर्दै जानुपर्छ ।”

पूर्व राष्ट्रपति भण्डारीले महिला आत्मविश्वासी भएर सकारात्मक स्रोत र योजनासहित अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याइन् । उनले महिला आत्मनिभएर भए मात्रै क्षमता अभिवृद्धिसँगै नेतृत्वमा जान सक्ने धारणा राखिन् ।

“समाजमा महिलाको योगदानलाई अपेक्षित गरिँदै आइएको छ । त्यसैले हामीले महिला नेतृत्व गर्न, उद्यम गर्न र समाज रूपान्तरण गर्न पूर्णरूपमा सक्षम छन् भनेर प्रचारप्रसार गर्न जरुरी भइसकेको छ”, उनले भनिन्, “महिलालाई प्रवर्द्धन र संवर्द्धन गर्न सकेको खण्डमा मात्रै प्रभावकारी ढंगले महिला उद्यमशीलताको विकास हुनेछ ।”

पूर्व राष्ट्रपति भण्डारीले महिलाको त्याग र समर्पणलाई संस्थागत गरेर अवसरहरू सिर्जना गरे मात्रै महिलामाथि सम्मान हुने धारणा राखिन् । मुलुकको बढ्दो व्यापार घाटालाई न्यूनीकरण गर्न आयात प्रतिस्थापनको नीति अपनाएर स्वदेशी उत्पादनमा जोड दिनुपर्ने उनले बताइन् ।

“हामीले यहाँको प्राकृतिक स्रोत, जनशक्ति र सांस्कृतिक विविधतालाई सही ढंगले उपयोग गरेर मुलुकलाई आत्मनिर्भरताको बाटोमा अघि बढाउनुपर्छ”, पूर्व राष्ट्रपति भण्डारीले भनिन्, “नेपालमा भएका स्रोतसाधनको दिगो तथा विवेकपूर्ण उपयोगबाट आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने अवसर हामीसँगै रहेकाले सोको उपयोग गर्न जरुरी छ ।”

सम्मेलनको संयोजक डा लक्ष्मी थापाले यस्ता खालका कार्यक्रमले महिलाको उद्यमशीलता विकासका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले महिला उद्यमशीलताको विकासका लागि महिलालाई अवसरसँगै घरघरबाट उद्योग–व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिइन्। “पछिल्लो समय महिला उद्यमशीलताको विकास द्रुत गतिमा भइरहेको छ । यसलाई अझै प्रवर्द्धन र संवर्द्धन गर्न राज्यका विभिन्न निकायले सहयोग गर्नुपर्ने जरुरी छ”, उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु