Thursday, April 30, 2026
Zenith Migration Education
Thursday, April 30, 2026

अपराध गर्ने कसैलाई छोड्दिन, बरु मै छोड्छु : गृहमन्त्री लामिछाने

Zenith Migration Education

काठमाडौँ: उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले अपराध गर्ने व्यक्ति कोहीलाई पनि नछाड्ने बताउनुभएको छ । प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उहाँले आपराधिक क्रियाकलापमा संलग्न जो कोहीलाई पनि नछोड्ने प्रतिबद्धता जनाउनुभयो ।

गृहमन्त्री लामिछानेले राजनीतिक दलमा आवद्ध कुनै पनि दलका नेता, कार्यकर्तालाई राजनीतिक प्रसयको आधारमा कुनै पनि हालतमा छुट नदिने तथा भनसुनको आधारमा अपराधमा संलग्न कसैलाई पनि नछाडिने बताउनुभयो । “कुनै पार्टीको नेता तथा स्वार्थ समूहलाई जोगाउने पक्षमा म कहिल्यै हुने छैन, म देश जोगाउने छु, जनतालाई जोगाउने छु, अनि मुलुकको अर्थतन्त्र जोगाउने छु, देशमा शान्ति सुव्यवस्था तथा अमनचयन कायम गर्नका लागि लागिपर्ने छु,” उहाँले भन्नुभयो, “अपराध गर्ने जो कोही व्यक्तिलाई समाएर छोड्ने हो की भन्ने प्रश्न पनि छ, तर समाएर कुनै प्रभावको आधारमा छाड्नुपरे बरु म नै पद छाड्ने छु । जो कोहीलाई छाड्ने छैन ।”

गृहमन्त्री लामिछानेले निर्मला पन्तलाई न्याय दिने विषयमा आफू संवेदनशील रहेको स्पष्ट पार्नुभयो । “मैले पहिलो कार्यकालमा पनि निर्मलालाई न्याय दिने छु भनेर प्रतिबद्धता जाहेर गरेको थिए, अहिले पनि त्यो विषय मेरो प्राथमिकतामा नै छ,” उहाँले भन्नुभयो, “यो निकै संवेदनशील विषय हो, जसरी पनि मेरो प्रयास जारी रहने छ ।”

जनताले आशा गरेअनुरुप काम गरेरै देखाउने गृहमन्त्री लामिछानेले प्रतिबद्धता व्यक्त गर्नुभयो । “आसा गरेअनुसार नै काम गर्न सकिन्छ भन्ने विश्वासका साथ म आएको छु । तपाईहरुले मलाई खबरदारी गर्न सक्नुभयो भने म अझै आफुलाई सुधार गर्ने मौका पाउने छु”, उहाँले भन्नुभयो ।

बैठकमा प्रहरी महानिरीक्षक बसन्त कुँवरले प्रभाव र दबाबमा परेर अनुसन्धान नगरिने बताउनुभयो । “हामी तथ्यमा अनुसन्धान गर्छौँ, दबाब र प्रभावमा परेर होइन,” उहाँले भन्नुभयो ।

यस्तै गृह सचिव एकनारायण अर्यालले समाजमा सुशासन र शान्ति सुव्यवस्था कायम गर्न स्रोतसाधनको अभाव मुख्य चुनौती रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु