टिकटकमा अराजकता मच्चाउने रमा बस्नेत पक्राउ परेकी छन् ।
नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई आइतबार पक्राउ गरेको हो । ३१ वर्षीया बस्नेत खोटाङको हलेसीतुवाचुङ नगरपालिकाकी हुन् ।
भक्तपुरमा बस्दै आएकी उनले प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताहरूलाई तथानाम गाली गर्दै आएकी थिइन् । आफूलाई रास्वपाका सभापति रवि लामिछानेको समर्थक भनेर चिनाउने उनले रवि बाहेकका नेताहरूलाई तथानाम भन्दै आएकी थिइन् ।
ब्युरोले आइतबार ‘टिकटकमार्फत नियोजित रूपमा जातीय साम्प्रदायिक भावनामा खलल पु¥याउनुका साथै प्रतिष्ठित व्यक्ति तथा संस्था र सम्प्रदायप्रति नकारात्मक धारणा फैलाएर चरित्र हत्या गरेको विषयमा व्यक्ति पहिचानका लागि आवश्यक प्राविधिक विश्लेषण र अनुसन्धान गरी पक्राउ’ गरेको भनेर प्रेस विज्ञप्ति जारी गरेको छ ।
ब्युरोका प्रवक्ता एवम् एसपी दीपकराज अवस्थीले कसको प्रतिष्ठामा आँच पुर्याउने गरी धारणा व्यक्त गरेका थिए भन्ने खुलाएका छैनन् । उनले उजुरीकर्ताको परिचय गोप्य नै राखिने बताए ।
बस्नेतमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट तीन दिन म्याद थप गरी अनुसन्धान सुरु भएको छ ।




