नेपाल प्रहरीका अवकाश प्राप्त महानिरीक्षक दुर्लभ कुमार थापाको निधन भएको छ। उनको ९७ वर्षको उमेरमा निधन भएको हो ।
दुर्लभ कुमार थापाले वि.सं. २०३५ जेठमा प्रहरी महानिरीक्षकको कार्यभार सम्हालेका थिए। उनको कार्यकालमा नेपाल प्रहरीमा महत्त्वपूर्ण सुधार र नवीन पहलहरू भए। उनले पर्यटक प्रहरीको स्थापना, कमाण्डो तालिमको सुरुवात, प्रहरी पहरा गणको गठन, र महानिरीक्षकको निवास निर्माण जस्ता उल्लेखनीय कार्यहरू गरे। यी पहलहरूले नेपाल प्रहरीको व्यावसायिकता र प्रभावकारिता बढाउन महत्त्वपूर्ण योगदान पुर्यायो।
वि.सं. २०२५ मा प्रहरी उपरीक्षक (एसपी) को रूपमा उनले जापानको क्योटोमा आयोजित इन्टरपोलको ३६औँ महासभामा नेपाल प्रहरीको प्रतिनिधित्व गरेका थिए।
राेम थापाकाे कार्यकालमा २०२४ मा नेपाल इन्टरपोलको १००औँ सदस्य राष्ट्र बनेकाे थियाे।
यस्तै थापाले १९५६/५७ मा भारतको माउन्ट आबुस्थित सेन्ट्रल पुलिस ट्रेनिङ कलेजमा भारतीय प्रहरी सेवा (आईपीएस) तालिम लिएका थिए। उनले वि.सं. २०२४ चैतदेखि २०२८ फागुनसम्म सदर प्रहरी तालिम केन्द्र (हालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान) को कमान्डेन्टको जिम्मेवारी सम्हालेका थिए।
वि.सं. २०३३ वैशाख २१ देखि २०३५ वैशाख ५ सम्म उनले पश्चिम क्षेत्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) को रूपमा नेपालगन्जमा कार्य गरे। उनको नेतृत्वमा प्रहरी सेवालाई अनुशासित र जनमुखी बनाउन विभिन्न सुधारका कार्यक्रमहरू लागू गरिएको थियो। उनको योगदानको कदर स्वरूप सन् २०१३ मा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जबाट ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो।



