Sunday, June 28, 2026
Zenith Migration Education
Sunday, June 28, 2026

ओबर्न नेपाली समुदायमा पहिलोपटक निर्वाचन- अध्यक्षमा अरुण श्रेष्ठ निर्वाचित

Zenith Migration Education

सिड्नी– ओबर्न नेपाली समुदायको वार्षिक साधारण सभा (AGM) सोमबार सम्पन्न भएको छ। सभाले अध्यक्ष जितेन्द्र श्रेष्ठको कार्यकालको समाप्तिसँगै नयाँ नेतृत्वका रूपमा अरुण श्रेष्ठलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ। ओबर्नको इतिहासमा पहिलोपटक निर्वाचन प्रक्रियाबाट अध्यक्ष चयन गरिएको हो।

अध्यक्ष पदका लागि अरुण श्रेष्ठ र उद्धव पोखरेलबीच प्रतिस्पर्धा भएको थियो। नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको निर्वाचनमा भारी मतान्तरसहित अरुण श्रेष्ठ विजयी बनेका छन्।

उपाध्यक्ष हेमन लमिछाने, महिला उपाध्यक्ष सहनशीला श्रेष्ठ,महासचिव दीपेन्द्र घिमिरे,सचिव वसन्त पाण्डे, कोषाध्यक्ष जनक प्रधान निर्वाचित भएका छन् । त्यसैगरी कार्यकारी सदस्यहरूमा सुरज बुढाथोकी, सकिना थापा, नवराज तिमिल्सिना, श्रीधर आचार्य, रिवाज मैनाली, युवराज घिमिरे, पुजन गड्तौला, नवीन चौलागाईं, विमर्श पाण्डे, विवेक ओझा र क्रिशम खड्का निर्वाचित भएका छन् । 

ओबर्न पार्कमा सम्पन्न भएको कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, एनआरएनए क्षेत्रीय संयोजक दिनेश पोखरेल, विभिन्न संघ-संस्थाका प्रतिनिधि तथा स्थानीय नेपाली समुदायको व्यापक उपस्थिति रहेको थियो।

निर्वाचन सम्पन्न भएपछि निवर्तमान अध्यक्ष जितेन्द्र श्रेष्ठले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण टिम तथा नेपाली समुदायलाई धन्यवाद ज्ञापन गर्दै नव-निर्वाचित अध्यक्ष अरुण श्रेष्ठलाई शुभकामना दिए। उनले नयाँ नेतृत्वलाई पहिलेजस्तै साथ, सहयोग र समर्थन रहने बताउँदै समुदायको हितमा अझ प्रभावकारी काम गर्ने अपेक्षा व्यक्त गरे।

त्यसैगरी, एनआरएनए अष्ट्रेलियाका क्षेत्रीय संयोजक दिनेश पोखरेलले ओबर्न नेपाली समुदायसँग आफ्नो निरन्तरको सम्बन्ध रहेको उल्लेख गर्दै निर्वाचन प्रक्रियाबाट आएको नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिए।

निर्वाचन समिति संयोजक हेमन्त काफ्लेले ओबर्नको इतिहासमा पहिलोपटक निष्पक्ष, व्यवस्थित र विवादरहित रूपमा निर्वाचन सम्पन्न भएकोमा खुसी व्यक्त गरे। उनले यस ऐतिहासिक निर्वाचनले ओबर्न नेपाली समुदायलाई थप संगठित र सशक्त बनाउने विश्वास व्यक्त गरे।

नव-निर्वाचित अध्यक्ष अरुण श्रेष्ठले आफ्नो टिमलाई विजयी गराएकोमा सम्पूर्ण समुदायप्रति आभार व्यक्त गर्दै पूर्व अध्यक्ष जितेन्द्र श्रेष्ठ तथा अग्रजहरूबाट प्राप्त मायालाई कदर गर्ने बताए। उनले समुदायको हित र विकासलाई प्राथमिकतामा राखी कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। एनआरएनए लगायत अन्य संघ-संस्थासँग सहकार्य गर्दै आफ्नो कार्यकाललाई प्रभावकारी रूपमा अघि बढाउने उनले बताए।

अरुण श्रेष्ठलाई युवा पुस्ता र नेपाली समुदायबीच लोकप्रिय नेतृत्वका रूपमा हेरिएको छ। ओबर्न नेपाली समुदायले नयाँ नेतृत्वलाई साथ र समर्थन गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम र योजनाहरू अपेक्षा गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु