नागरिक समाजका अगुवा डा सुन्दरमणि दीक्षितले तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई रु एक लाख सहयोग उपलब्ध गराएका छन्।
रिपोर्टर्स क्लब नेपालको २७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा डा दीक्षितले उक्त रकम क्लबका अध्यक्ष ऋषि धमलालाई हस्तान्तरण गर्दै मृतक रजकको परिवारलाई उपलब्ध गराउन आग्रह गरे।
आन्दोलनका क्रममा पत्रकारको मृत्यु गम्भीर विषय रहेको बताउँदै उहाँले सबै सञ्चारकर्मीको सुरक्षाको प्रत्याभूतिका लागि सरकारसँग माग समेत गरे।
साथै उक्त घटनाका घाइतेको उपचार तथा मृत्युवरण गरेका व्यक्तिलाई राहत रकम उपलब्ध गराउन डा दीक्षितले सरकारसँग आग्रह गरे। सरकार सबैको अभिभावक भएकाले त्यो भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको उनले उल्लेख गरे।
सुरेश रजक स्मृति टेलिभिजन पत्रकारिता पुरस्कारको घोषणा
राजावादीको आन्दोलनमा ज्यान गुमाएका एभिन्यूज टेलिभिजनका सुरेश रजकको स्मृतिमा ‘टेलिभिजन पत्रकारिता पुरस्कारको घोषणा’ गरिएको छ ।
एभिन्यूज खबरका अध्यक्ष भास्करराज राजकर्णिकारद्वारा आइतबार जारी विज्ञप्तिअनुसार ‘सुरेश रजक स्मृति टेलिभिजन पत्रकारिता पुरस्कार’ हरेक वर्ष चैत १५ गते प्रदान गरिने छ ।
एभिन्यूजले घटनाको उच्चस्तरीय छानबिन गरी दोषीलाई कारबाही, मृतक रजकलाई शहीद घोषणा र मृतकका परिवारलाई राहत उपलब्ध गराउन सरकारसमक्ष यसअघि नै माग गरिसकेको छ ।
त्यसैगरी रजकको परिवारलाई रोजगारीका लागि पहल गर्ने, तत्कालका लागि काजकिरिया खर्चबापत १ लाख रुपैयाँ प्रदान गरिने राजकर्णिकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यस्तै एभिन्यूजले गरेको रजकको बीमा बापतको १० लाख रुपैयाँ प्राप्तिका लागि आवश्यक प्रक्रिया अघि बढाइने जनाइएको छ ।



