Tuesday, July 21, 2026
Zenith Migration Education
Tuesday, July 21, 2026

अनेसास न्यु साउथ वेल्स च्याप्टरद्वारा बाल साहित्यिक कार्यक्रम सम्पन्न

Zenith Migration Education

सिड्नी – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यु साउथ वेल्स च्याप्टरको आयोजनामा २९ मार्च २०२४, शनिवार बाल साहित्यिक कार्यक्रम भव्य रूपमा सम्पन्न भयो। अष्ट्रेलियामा जन्मेहुर्केका नेपाली मूलका बालबालिकाहरूलाई भाषा, साहित्य र संस्कृतिप्रति अभिप्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको बाल साहित्यिक कार्यक्रमको अध्यक्षता सो संस्थाका अध्यक्ष डा. प्रकाश पौडेल गरेका थिए भने प्रमुख अतिथिका रूपमा बुटवल नेपालका समाजसेवी एवं अन्तर्राष्ट्रिय जेसिसका पुर्व उपाध्यक्ष अनुप मान सैंजु उपस्थित थिए।

पानसमा दीप प्रज्वोलन एवं राष्ट्रिय गान तथा स्वागत नृत्य प्रस्तुत गरेर शुरु भएको सो कार्यक्रममा १८ जना बालबालिकाहरूले कविता वाचन, श्लोक वाचन, गीत तथा नृत्य प्रस्तुत गर्दै समृद्ध बनाएका थिए । साथै बिगत पाँच वर्षदेखि निरन्तर बाल साहित्यिक कार्यक्रममा रचना वाचन गरेका बालबालिका आयाम घिमिरे र श्रेया पौडेललाई नगद राशी $१०० र प्रसंशापत्र सहितको “अनेसास बाल साहित्य पुरस्कार” बाट सम्मानित गरिएको थियो ।

कार्यक्रम सफल बनाउन बेलाभिस्टा साईकियाट्री र वेलबिइङ् क्लिनिक मार्फत संगीता चापागाई, नेपाल तराई समाज अष्ट्रेलियाका अध्यक्ष रञ्जित शाह, तथा सेज होम लोन्सका समिर श्रेष्ठले आर्थिक सहयोग गरेका थिए। महासचिव भावना पराजुली र पब्लिक अफिसर मुक्तिराम पोखरेलले औपचारिक कार्यक्रम सञ्चालनमा महत्वपूर्ण भूमिका खेले भने बाल साहित्यिक कार्यक्रमको उद्घोषण मिठो र सहज ढंगले नेपाली भाषामा बोल्दै ११ वर्षीय बाबु आयाम घिमिरेले गरेका थिए।

सो कार्यक्रममा अनेसासका पुर्व अध्यक्षहरु सानु घिमिरे र ममता तिवारी, पुर्व उपाध्यक्ष बिष्णु घिमिरे, गायिका तथा कलाकार जेनीसा गौतम र उनका परिवार, प्रमुख अथिति सैंजुको परिवार, अनेसास सचिव अस्मित रेग्मी र सल्लाहकार सौरभ किरण श्रेष्ठ,  साथै पत्रकार हरू। र विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो । गायक मानस राज र समाजसेवी रञ्जित शाहको जन्मदिनको अवसरमा कार्यक्रमको अन्त्यमा केक काटेर जन्मदिन समेत मनाइएको थियो।

प्रमुख अथिति सैंजु र सानु घिमिरेले सहभागी सम्पूर्ण बालबालिकाहरुलाई प्रसंशापत्र एवं पुरस्कार वितरण गरेका थिए भने सौरभ किरण श्रेष्ठले सम्पूर्ण बालबालिकाहरुलाई आफ्नो बाल पुस्तकहरु पुरस्कार स्वरुप प्रदान गरेका थिए । प्रमुख अथिति सैंजुले कार्यक्रमको मुक्त कण्ठले प्रशंसा गर्दै बालबालिका लछित कार्यक्रमको निरन्तरतामा जोड दिएका थिए। अन्त्यमा, अनेसास न्यु साउथ वेल्स च्याप्टरका अध्यक्ष प्रकाश पौडेलले कार्यक्रममा उपस्थित सबैप्रति आभार एवं धन्यवाद व्यक्त गर्दै भने, “नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धनमा संस्थाको अभियान निरन्तर रहनेछ। विदेशमा जन्मेका दोस्रो पुस्ताका बालबालिकालाई मातृभाषासँग जोड्न यस्ता कार्यक्रमहरू प्रभावकारी हुनेछन्।” उनले सबैको सहयोग र सहभागिताले कार्यक्रम भव्य रूपमा सम्पन्न भएकोमा खुशी ब्यक्त गर्दै सबैलाई धन्यवाद दिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु