Monday, September 7, 2026
Zenith Migration Education
Monday, September 7, 2026

येशूको प्रेम र बलिदान सम्झिँदै गुड फ्राइडे विश्वभर मनाइँदै

Zenith Migration Education

सिड्नी — विश्वभरका ख्रीष्टियन धर्मावलम्बीहरूले आज गुड फ्राइडे श्रद्धा, मौनता र प्रार्थनाका साथ मनाइरहेका छन्। इस्टरभन्दा दुई दिनअघि पर्ने यो दिन येशू ख्रीष्टलाई क्रुसमा टाँगेर मृत्युदण्ड दिइएको घटनाको स्मरणमा मनाइन्छ।

ख्रीष्टियन विश्वासअनुसार येशू ख्रीष्टले मानवजातिको पापबाट मुक्ति दिलाउन आफ्नो जीवन बलिदान गर्नुभएको हो। यही कारणले दुःखद घटना भए पनि यस दिनलाई “गुड” अर्थात् पवित्र र महान दिनका रूपमा लिइन्छ।

पवित्र बाइबलअनुसार निर्दोष येशूलाई पक्राउ गरी राजद्रोहको आरोपमा रोमी शासकसमक्ष प्रस्तुत गरिएको थियो। अन्ततः उहाँलाई क्रुसमा टाँग्ने आदेश दिइएको थियो। क्रुसमा टाँगिएपछि उहाँले कठोर पीडा सहँदै अन्तिम सास त्याग गर्नुभएको विश्वास गरिन्छ।

गुड फ्राइडेलाई ख्रीष्टियन समुदायले शोक, आत्मचिन्तन र प्रार्थनाको दिनका रूपमा मनाउने गर्छन्। यस अवसरमा विश्वभरका चर्चहरूमा विशेष आराधना, उपवास तथा मौन ध्यान गरिँदै छ। कतिपय स्थानमा ‘स्टेशन्स अफ द क्रस’ (क्रुसको यात्रा) कार्यक्रममार्फत येशूको अन्तिम यात्रा सम्झिने परम्परा पनि रहेको छ।

अष्ट्रेलियाको सिड्नी लगायत विभिन्न शहरहरूमा पनि चर्चहरूमा विशेष प्रार्थना सभा भइरहेका छन्। नेपाली भाषी चर्चहरूले पनि विशेष प्रार्थना तथा आराधना कार्यक्रम आयोजना गरी गुड फ्राइडे मनाइरहेका छन्। नेपाली समुदायले सामूहिक रूपमा प्रार्थना, भजन तथा धार्मिक कार्यक्रममार्फत यो दिन मनाइरहेका छन्।

गुड फ्राइडेपछि आउने इस्टर आइतबारलाई येशू ख्रीष्ट पुनर्जीवित भएको दिनका रूपमा मनाइन्छ। यसले मृत्यु माथि जीवनको विजय भएको सन्देश दिने विश्वास गरिन्छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु