सिड्नी—अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यू साउथ वेल्स च्याप्टरको आयोजनामा बालबालिकाको साहित्यिक प्रतिभा प्रोत्साहन गर्ने उद्देश्यले ‘बाल साहित्यिक कार्यक्रम’ शनिबार अबर्नस्थित ग्रान्ड प्यालेस फङ्सन सेन्टरमा सम्पन्न भएको छ।
दिउँसो २:०० बजेदेखि ४:०० बजेसम्म सञ्चालन भएको कार्यक्रममा करिब २० जना बालबालिकाले कविता, बालकथा, निबन्ध तथा आफ्ना अनुभव प्रस्तुत गरेका थिए। साथै, बालबालिकाहरूले नृत्य प्रस्तुत गर्दै आफ्नो सिर्जनात्मक क्षमता प्रदर्शन गरेका थिए।

कार्यक्रममा सहभागी सबै बालबालिकालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।
संस्थाका अध्यक्ष डा. प्रकाश पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रम दोस्रो पुस्ताकी बाल साहित्य प्रतिभा आन्भी बस्ताकोटीले सञ्चालन गरेकी थिइन् भने महासचिव भावना पराजुलीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।

कार्यक्रममा नारीनिकुञ्ज NSW की संयोजक आशा श्रेष्ठ, कलाकार जेनिसा गौतम, व्यवसायी रञ्जित साह, नयाँ संस्था अध्यक्ष बिपीन थापा लगायत बालबालिका तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सहभागी बालबालिकालाई प्रोत्साहनस्वरूप अध्यक्ष डा. प्रकाश पौडेल र आशा श्रेष्ठले संयुक्त रूपमा पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए।

कार्यक्रममा बोल्दै महासचिव पराजुलीले यस्ता कार्यक्रमले नेपाली समुदायमा सकारात्मक प्रभाव पार्दै आएको उल्लेख गर्दै यसको निरन्तरता आवश्यक रहेको बताइन्।

कार्यक्रममा नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठान ग्रानभिलकी उपाध्यक्ष रिना केसीद्वारा सञ्चालित नृत्य केन्द्रका बालबालिकाहरूले आकर्षक तथा मनमोहक नृत्य प्रस्तुत गर्दै कार्यक्रमको रौनक थप बढाएका थिए।
कार्यक्रमको समापन संस्थाका अध्यक्ष डा. प्रकाश पौडेलद्वारा गरिएको थियो।






















