Sunday, April 19, 2026
Zenith Migration Education
Sunday, April 19, 2026

टुँडिखेलमा नीतिगत बहस गर्न उदय शमशेरको आग्रह

Zenith Migration Education

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री एवं ललितपुर निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार उदय शमशेर जबराले आगामी निर्वाचनमा कांग्रेसले गगन थापालाई प्रधानमन्त्रीका रूपमा अघि सारेको उल्लेख गर्दै कार्यकर्तालाई उनकै नाममा भोट माग्न आग्रह गरेका छन् ।

ललितपुरमा आयोजित पार्टीका अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै जबराले यो चुनाव जितेन्द्र श्रेष्ठ वा उदय शमशेरको मात्र नभई गगन थापालाई प्रधानमन्त्री बनाउने र देशमा परिवर्तन ल्याउने चुनाव भएको बताए । कांग्रेसले गगन थापालाई प्रधानमन्त्रीका रूपमा अघि सारेर चुनावमा गएको उल्लेख गर्दै उनले “अबका सरकार गगन थापाको सरकार” भनेर भोट माग्न आग्रह गरे ।

सहमहामन्त्री जबराले प्रधानमन्त्रीका उम्मेदवारहरूबीच राष्ट्रिय बहस हुनुपर्नेमा जोड दिँदै फेसबुक र ट्विटरमा मात्र सीमित नभई सार्वजनिक स्थल (टुँडिखेल) मा आएर पार्टीका नीति, अर्थतन्त्र, परराष्ट्र, कृषि, पर्यटन र जलस्रोतका विषयमा खुला बहस गर्न अन्य नेताहरूलाई चुनौती दिए ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति लक्षित गर्दै उनीहरू नयाँ नभई पुरानै अनुहार भएको दाबी गरे । रास्वपा दुई पटक सरकारमा सहभागी भइसकेको र त्यसका सभापति दुई पटक गृहमन्त्री भइसकेकाले उनीहरूलाई कसरी नयाँ भन्ने प्रश्न गरे । साथै, विवादित नेतृत्वले परिवर्तन ल्याउन नसक्ने उनको भनाइ थियो ।

उनले भने, “पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय बहसका लागि तयार छु भन्नुभयो, तर अहिलेका युवा उम्मेदवारहरूले यसलाई किन स्वीकार गरिरहेका छैनन् ? फेसबुकबाट मात्र देश चल्दैन, जनताको नजिक आएर आफ्ना नीतिहरू भन्नुपर्छ ।”

‘जेन–जी’ आन्दोलनपछि नेपाली कांग्रेसले आफूलाई बदलेको दाबी गर्दै जबराले पार्टीभित्रको आन्तरिक लोकतन्त्र र नेतृत्व परिवर्तनबारे चर्चा गर्नुभयो। कांग्रेस अब सबैभन्दा पुरानो मात्र नभई सबैभन्दा नयाँ र नवीन पार्टी बनेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु