Tuesday, July 21, 2026
Zenith Migration Education
Tuesday, July 21, 2026

स्वास्थ्य बिमा कार्यक्रममा सुधार आवश्यक : स्वास्थ्यमन्त्री गौतम

Zenith Migration Education

गण्डकी । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले स्वास्थ्य बिमा कार्यक्रममा सुधारको खाँचो रहेको औँल्याएकी छन् । सोमबार पोखरामा आयोजित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौँ स्थापना दिवस समारोहमा उनले स्वास्थ्य बिमा कार्यक्रमको खर्च राज्यले धान्न नसक्ने अवस्थामा पुगेको बताइन् ।

“स्वास्थ्य बिमा कार्यक्रमका लागि यस वर्ष सरकारले रु ११ अर्ब विनियोजन गरेको थियो, त्यो बजेट सकिएर अर्को ११ अर्ब खर्च भइसकेको छ”, मन्त्री गौतमले भनिन्, “स्वास्थ्य बिमामा भइरहेको दुरुपयोग नरोक्ने हो र खर्चमा मितव्ययिता नअपनाउने हो भने अब राज्यको क्षमताले यसलाई भ्याउँदैन ।”

स्वास्थ्य बिमा गरेका आधारमा अनावश्यक जाँच तथा स्वास्थ्य सेवा उपभोग गर्ने प्रवृत्तिले चुनौती थपिएको उनको भनाइ छ । “स्वास्थ्य बिमा हुनेखाने र निरोगीले पनि बिमा कोषमा रकम जम्मा गर्ने र विपन्न अवस्थाका बिरामीलाई उपचार सेवा दिने उद्देश्यले सञ्चालन गरिएको योगदानमा आधारित कार्यक्रम हो”, मन्त्री गौतमले भनिन्, “तर धेरैजसो बिरामीले नै बिमा गर्ने, चाहिनेभन्दा बढी सेवा लिने, चिकित्सकले पनि अनावश्यक जाँचहरु लेख्दा समस्या भइरहेको छ ।”

अस्पतालको फार्मेसी र बिमाबाट दिइने औषधिको मूल्यमा एकरुपता हुनुपर्ने र शय्या निःशुल्क रहेका अस्पतालले बिमाबाट भुक्तानी गर्न नहुने उनले बताइन् । मन्त्री गौतमले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि पूर्वाधार र जनशक्ति व्यवस्थापनमा मन्त्रालयले सक्दो पहल गर्ने बताइन् ।

समारोहमा मन्त्री गौतमले प्रतिष्ठानको स्मारिकासमेत विमोचन गरेकी थिइन् । उक्त अवसरमा प्रतिष्ठानमा दीर्घ सेवा गरेका कर्मचारी, प्राविधिक, चिकित्सकलगायतलाई सम्मान गरिएको प्रतिष्ठानका उपकुलपति प्रा डा भरतबहादुर खत्रीले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु