Sunday, December 7, 2025
Zenith Migration Education
Sunday, December 7, 2025

ओबर्नमा टपरी टकरको चौथो वार्षिकोत्सव, महानायक राजेश हमाललाई सम्मान

Zenith Migration Education

सिड्नी – ओबर्नस्थित टपरी टकर रेष्टुरेन्टले आफ्नो चौथो वार्षिकोत्सव बिहीबार बेलुकी भव्य समारोहसहित मनाउँदै महानायक राजेश हमाललाई विशेष सम्मान गरेको छ।

नेपाली सिनेमाका प्रिय अभिनेता हमालले टपरी टकर परिवार र उपस्थित नेपाली समुदायसँग आत्मीय भेटघाट गर्दै आफ्ना अनुभवहरू साझा गरे। चलचित्र यात्रा, समाज र राजनीतिसम्मका विषयमा राखिएका जिज्ञासाको उत्तर दिंदै उनले नेपालमा शान्ति, स्थिरता र राष्ट्रिय एकताको आवश्यकता औंल्याए।

एक युवाको प्रश्नमा हमालले गम्भीर हुँदै भने, “देशलाई जरुरत पर्‍यो भने र जनताले चाहे राजनीति गर्न सक्ने अवस्था आउन सक्छ।” हालै नेपालमा भएको जीएनजी आन्दोलनपछि अन्तरिम सरकारको सम्भावित मन्त्रीमण्डलमा उनको नामबारे चर्चा बढ्दै गएको प्रसंगमा हमालको उत्तरलाई सहभागीहरूले चासोका साथ सुने।

समारोह रंगीन, शालीन र भव्य बनेको थियो। साक्य परिवारले प्रस्तुत गरेको लाखे नाच, युवा पुस्ताकी सोनिका नायाजु, सुरक्षा केसी र लिजा मगरको संयुक्त नृत्य तथा लाइभ म्युजिकका प्रस्तुतीहरूले वातावरण झनै मनोरञ्जनपूर्ण बनेको थियो। साथै, लाईभ म्युजिकसँगै टपरी टकरले प्रस्तुत गरेका विभिन्न स्वादका नेपाली परिकारले कार्यक्रमलाई अझ आकर्षक बनाएको थियो।

टपरी टकरका सञ्चालक विजय शाक्य, उनको परिवार र सम्पूर्ण कर्मचारीले संयुक्त रूपमा हमाललाई स्वागत तथा सम्मान गरेका थिए। कार्यक्रममा पत्रकार राजन घिमिरे शास्त्री, NRNA अन्तर्राष्ट्रिय कार्यसमिति सदस्य तथा न्यायिक समिति सदस्य डिल्लि ढकाल, ओबर्न नेपाली समुदायका अध्यक्ष अरुण श्रेष्ठसहित स्थानीय नेपाली समुदायका विभिन्न पुस्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।

सिड्नीमा बसोबास गर्ने नेपालीहरूको लोकप्रिय गन्तव्य बनेको टपरी टकर रेष्टुरेन्ट नेपाली परिकार चाख्ने, परिवार र साथीभाइबीच भेटघाट गर्ने उत्कृष्ट स्थलका रूपमा परिचित छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु