Tuesday, March 10, 2026
Zenith Migration Education
Tuesday, March 10, 2026

पुटिनलाई अब धेरै पर्खन नसकिने ट्रम्पको भनाइ

Zenith Migration Education

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति बढ्दो निराशा व्यक्त गर्दै युक्रेन सङ्कट समाधानमा चुनौती र दुवै पक्षको सहयोगको आवश्यकतालाई जोड दिएका छन् ।

फक्स न्यूजमा फक्स एन्ड फ्रेन्ड्ससँगको अन्तर्वार्तामा ट्रम्पलाई पुटिनसँगको धैर्यता समाप्त भएको हो भनी सोधिएको प्रश्नमा ट्रम्पले भने, “यो एक प्रकारको दौडपछि अर्को दौड जस्तो भइरहेको छ ।

सहमतिका लागि भन्दै प्रयासहरू भइरहेका छन् । तर ट्याङ्गो (एक प्रकारको नाच) जस्तै यो प्रक्रियालाई घुमाइराखिएको छ । पुटिनले सहमति गर्न चाहँदा जेलेन्स्कीले समस्या खडा गर्ने र जेलेन्स्कीले चाहँदा पुटिनले समस्या खडा गर्ने भइरहेको छ । यसरी हुँदैन अब हामी धेरै बलियो भएर उनीहरूलाई सहमतिमा ल्याउनुपर्छ ।”

उनले पोल्याण्ड नजिकै रूसी ड्रोन आक्रमणका गतिविधिको बारेमा देखाइएका चिन्तालाई पनि सम्बोधन गर्दै भने, “तिनीहरू वास्तवमै खसालिएका थिए । अहिले रूसी सेना पोल्याण्डको नजिक हुनु हुँदैन ।”

यसअघि बिहीबार अमेरिकी राष्ट्रपतिले ड्रोनको अवस्थाप्रति असन्तुष्टि व्यक्त गरेका थिए र यस क्षेत्रमा संयम र समन्वयात्मक कारबाहीको लागि वाशिङ्गटनको अपेक्षालाई जोड दिँदै यस मुद्दाको अन्त्य हुने आशा व्यक्त गरेका थिए ।

ह्वाइट हाउसबाहिर पत्रकारसँग कुरा गर्दै ट्रम्पले भने, “गल्ती भएको हुन सक्छ । जे भए पनि, म त्यो सम्पूर्ण परिस्थितिसँग सम्बन्धित कुनै पनि कुराको बारेमा खुसी छैन । आशा छ कि यो अन्त्य हुनेछ ।”

सीएनएनका अनुसार पोल्याण्डको सेनाले युक्रेनमा रुसी आक्रमणको क्रममा आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका ड्रोनहरू गोली हानेर खसालेको पुष्टि गरेपछि यो स्थिति आएको हो ।

युक्रेनमा युद्ध सुरु भएयता नेटो सेनाले गोली चलाएको यो पहिलो हो ।

त्यसको जवाफमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले पोल्यान्डको हवाई क्षेत्रको सुरक्षाका लागि तीनवटा राफेल विमान परिचालन गर्न निर्देशन दिएका थिए ।

सामाजिक सजाल एक्समा गरिएको एक पोस्टमा म्याक्रोँले पोल्यान्डको हवाई क्षेत्रको सुरक्षाका लागि तीनवटा राफेल विमान परिचालन प्रक्रिया अघि बढेको पुष्टि गरे । उनले अघिल्लो दिन पोल्याण्डका प्रधानमन्त्रीसँग यो प्रतिबद्धता व्यक्त गरेका थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्पसँग भने, “मैले यस विषयमा नेटोका महासचिव र पूर्वी भागको रक्षामा संलग्न बेलायती प्रधानमन्त्रीसँग पनि छलफल गरेको छु । युरोपको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो । हामी रूसको बढ्दो धम्कीको अगाडि झुक्ने छैनौँ ।”

पोल्याण्डका अधिकारीहरूले घटनाको गम्भीरतालाई जोड दिएका छन् । पोल्याण्डका उपप्रधानमन्त्री राडोस्लाव सिकोस्र्कीले ड्रोन घुसपैठको मात्राले यो जानाजानी भएको सङ्केत गरेका छन् ।

पोल्यान्डको संसद्लाई सम्बोधन गर्दै प्रधानमन्त्री डोनाल्ड टस्कले पोल्यान्ड युद्धमा नभए पनि स्थिति दोस्रो विश्वयुद्धपछिको कुनै पनि समयभन्दा बढी खतरनाक रहेको बताएका छन् ।

उनले भने, “पोल्याण्ड युद्धको स्थितिमा छ भनेर भन्नुको कुनै कारण थिएन, तर यो दोस्रो विश्वयुद्धपछि कुनै पनि समयको तुलनामा द्वन्द्वको नजिक थियो ।’’

टस्कले भने, “पोल्याण्डले नेटो सन्धिको धारा ४ लागू गरेको छ, जसले गठबन्धनलाई सदस्य राष्ट्रहरूको सुरक्षामा खतराहरूको बारेमा छलफल गर्न अनुमति दिन्छ ।”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु