Thursday, June 25, 2026
Zenith Migration Education
Thursday, June 25, 2026

अवैध चोरीपैठारी र निकासी रोक्नका लागि समन्वय गरेर काम गर्नुपर्‍यो: गृहमन्त्री लेखक

Zenith Migration Education

वीरगञ्ज (पर्सा) । गृहमन्त्री रमेश लेखकले सीमानाकामा हुने अवैध चोरीपैठारी र निकासी रोक्न सरोकारवाला निकायलाई समन्वय गरेर काम गर्न निर्देशन दिएका छन् ।

आइतबार जिल्ला प्रशासन कार्यालय, पर्सामा भएको राजस्व चुहावट नियन्त्रण समन्वय समितिको बैठकमा गृहमन्त्री लेखकले स्थानीय प्रशासन, भन्सार कार्यालय, तीनवटै सुरक्षा संयन्त्रसहित सरोकारवाला सबै निकायबीच एकापसमा समन्वय र सहकार्य गरी अवैध चोरीपैठारी र निकासी रोक्न निर्देशन दिए ।

“राजस्व चुहावट नियन्त्रणका लागि सबै सरोकारवाला निकायबीच आपसी समन्वय गरेर अघि बढ्नका लागि अनुरोध गर्दछु”, उनले भने, “एक निकायले अर्को निकायलाई दोषारोपण गरेर नभइ समन्वयसहित सहकार्य गर्न जरुरी छ ।” गृहमन्त्री लेखकले सीमा क्षेत्रमा हुने अवैध चोरी तस्कर र अन्य आपराधिक गतिविधि न्यूनीकरणका लागि आवश्यक पहलकदमी गर्न अनुरोध गरेका छन् ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा वीरगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलन उत्साहजनक भएको बताए ।

“अघिल्लो आवको तुलनामा गत आवमा राजस्व सङ्कलन उत्साहजनक ढङ्गले वृद्धि भएको छ । चालु आवमा पनि लक्ष्यअनुसारको सङ्कलन हुने अपेक्षा छ”, उनले भने, “चोरी तस्करी नियन्त्रणका लागि सम्बद्ध सबै निकायले हातेमालो गरेर अघि बढ्नुपर्ने हुन्छ ।”

पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयका प्रमुख हरिप्रसाद शर्माले सुरक्षा निकायले बिलबिजक बिना तस्करीका मालवस्तु ओसार्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताए । “भारतीय नागरिकले नेपालका कम आयआर्जन भएका नागरिकको नागरिकताको दुरुपयोग गरी विभिन्न ‘फर्म’हरु दर्ता गरी सोहीमार्फत तस्करी गर्ने प्रवृत्ति देखिएको छ”, उनले भने, “राजस्व चुहावट नियन्त्रणका लागि सबै निकायबीच समन्वय हुन आवश्यक छ ।”

पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जिल्लाको शान्ति सुरक्षा र राजस्व चुहावट नियन्त्रणका लागि सम्बद्ध सरोकारवाला निकायसँग समन्वय गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल प्रहरी मधेश प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुरवेदीले भन्सार नाका वरपर गोदाम खोल्ने प्रवृत्तिलाई निरुत्साहित गर्न जरुरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु