Thursday, June 25, 2026
Zenith Migration Education
Thursday, June 25, 2026

५० हजारभन्दा बढी कर्मचारीले सम्पत्ति विवरण बुझाए

Zenith Migration Education

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ सुरु भएको ४५ औँ दिनसम्ममा ५१ हजार ६५८ कर्मचारीले राष्ट्रिय किताबखानामा आफ्नो सम्पत्ति विवरण बुझाइसकेका छन् । कानुन अनुसार आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने र तोकिएको समयसीमा नाघेमा रु १० हजार जरिवाना तिर्नुपर्ने व्यवस्था छ ।

कर्मचारीलाई सहज बनाउन राष्ट्रिय किताबखानाले हरेक दिन बिहान, साँझ तथा सार्वजनिक बिदामा समेत शाखा खुलाउने व्यवस्था गरेको छ। यसैगरी, पहिलो पटक सातै प्रदेशका मुख्यमन्त्री कार्यालयमार्फत पनि विवरण बुझाउन सकिने व्यवस्था गरिएको छ । यसबाट लाभ उठाउँदै हालसम्म सातै प्रदेशमा ७ हजार ५८७ कर्मचारीले सम्पत्ति विवरण बुझाइसकेका छन् ।

गत आर्थिक वर्ष ०८१/८२ मा ८५ हजार ६४१ कर्मचारीले सम्पत्ति विवरण बुझाउनुपर्नेमा ८३ हजार ९३६ ले मात्र बुझाएका थिए । तथापि, बुझाइएका विवरणको गुणस्तर र शुद्धतामा समस्या देखिएकाले यस वर्ष ‘शुद्धिकरण विशेष अभियान’ सञ्चालन गरिएको राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवण कुमार पोखरेलले बताए ।

उनका अनुसार म्याद समाप्त भएपछि अर्थात् २०८२ भदौ २९ गते आइतवारपछि, अन्तिम तथ्यांक सार्वजनिक गरिनेछ । उनले तोकिएको म्यादभित्र सम्पत्ति विवरण नबुझाउनेलाई रु १० हजार जरिवाना तिर्नुपर्ने कानुनी प्रावधान भएकाले सबै कर्मचारीलाई तोकिएको निकायमा विवरण बुझाउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु