Thursday, April 30, 2026
Zenith Migration Education
Thursday, April 30, 2026

पछिल्लो २४ घण्टामा चट्याङ लागेर १८ जना घाइते

Zenith Migration Education

पछिल्लो २४ घण्टामा नेपालका विभिन्न क्षेत्रमा चट्याङ लागेर १८ जना घाइते भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार देशभरमा चट्याङबाट १८ जना घाइते भएका हुन्।

सङ्खुवासभा, मकवानपुर, स्याङ्जा, प्यूठान, अर्घाखाँची, रोल्पा, दाङ र सल्यानमा चट्याङका घटना भएका प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले बताए।

उनका अनुसार रोल्पामा मात्रै आठजना घाइते भएका छन्। यहाँको बालकल्याण माविको प्राङ्गणमा चट्याङ पर्दा छ जना बालबालिका घाइते भएका थिए भने रोल्पाकै त्रिवेणी गाउँपालिकाको डाफ्लामा एक घरमा परेको चट्याङबाट दुईजना घाइते भएका हुन्।

मकवानपुरको राक्सिराङमा दुई, प्यूठानको ऐरावती गाउँपालिकामा दुई, दाङको घोराही उपमहानगरपालिकामा दुईजना चट्याङबाट घाइते भएका केसीले जानकारी दिए।

उनका अनुसार सङ्खुवासभाको सिलिचोङ गाउँपालिका, स्याङ्जाको गल्याङ नगरपालिका, अर्घाखाँचीको मालारानी गाउँपालिका र सल्यानको त्रिवेणी गाउँपालिकामा चट्याङबाट एक/एकजना घाइते भएका छन्।

यस्तै, लेक लागेर रसुवामा एक जना र आगलागी हुँदा रुपन्देहीमा दुईजना घाइते भएका प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु