हालै, हामीले अस्ट्रेलियामा नेपाली महिलाहरूको अधिकारका लागि लड्दै सामाजिक कार्यमा अग्रसर हुँदै गरेकी एक प्रेरणादायी नेपाली महिला, समाजसेवी संगिता चापागाईंसँग अन्तरवार्ता गर्ने अवसर पायौं। उनी हाल एनआरएनए नारी निकुञ्ज, अस्ट्रेलियाकी राष्ट्रिय संयोजकको रूपमा कार्यरत छिन्। उनको समाजसेवाको यात्राले दृढता, परिश्रम र नेपाली समुदायप्रतिको गहिरो माया प्रतिबिम्बित गर्छ। उनै समाजसेवी संगिता चापागाईंसँग वचनन्यूजका प्रकाशक तथा सम्पादक केदार रायमाझीले गर्नुभएको विशेष अन्तरवार्ता।
पारिवारिक पृष्ठभूमि : बारे बताई दिनुहोस न ?
मेरो जन्म काठमाडौँको लाजिम्पाटमा भएको हो । म हाम्रो परिवारकी जेठी छोरी हु । म बुवा-आमकी आदर्श सन्तान बनिरहन चाहन्छु ।

शैक्षिक योग्यता र बिबाहको प्रसङ्गबारे बताईदिनु हुन्थियो की ?
मेरो शिक्षा पिपुल्स कलेज, काठमाडौँबाट मास्टर्स कम्प्लिट गरेँ। विबाहको कुरा गर्दा, आफन्तमार्फत घनश्यामजीसँग चिनजान भयो। केही भेटघाटपछि हामीले विवाह गर्ने निर्णय लियौं
अस्ट्रेलियामा तपाई र तपाइको श्रीमानको यात्रा र पेशागत पृष्ठभूमिबारे केही बताईदिनुहोस न ?
मेरो श्रीमान् २००४ मा अस्ट्रेलिया आउनुभयो र उहाँले चिकित्सा क्षेत्रमा करियर सुरु गर्नुभयो। २००८ सम्ममा उहाँ क्लिनिकल निर्देशक बन्न सफल हुनुभयो। म २००४ मा नै उहासंगे अस्ट्रेलिया बसाई सरे । उहाँ नेपियन अस्पतालमा निर्देशकको रूपमा कार्यरत हुनुभयो भने म नेपाली कार्यक्रमहरू र सामाजिक सेवामा संलग्न हुँदै आएँ। मेरो प्लेटफर्मबाट नेपाली समुदायका लागि केही सकारात्मक योगदान गर्न सधैं तत्पर छु। वर्तमान कार्यकालमा नारी निकुञ्जमार्फत समाजसेवा गरिरहेकी छु।

गैरआवासीय नेपाली संघ (एनआरएनए) सँग तपाईंको संलग्नता कसरी भयो ?
मेरो श्रीमान् एनआरएनएका सदस्य र सल्लाहकार हुनुहुन्थ्यो। यहाँमार्फत संघका लक्ष्य र उद्देश्यबारे बुझ्ने अवसर पाएँ र महिला मञ्चमा सक्रिय रूपमा संलग्न हुन प्रेरित भएँ। सुरुमा अध्यक्ष थिइँन तर सक्दो योगदान गर्न लागिपरेँ। पछि एनआरएनए नेतृत्व भूमिकामा चयन भएँ। सुरुमा केही हिच्किचाहट थियो, तर समाजसेवाका लागि यो अवसरलाई लिने निर्णय गरेँ। अहिले टिमसँग मिलेर सेवा गर्दैछु।
जीवनप्रति तपाइको दृष्टिकोण र अरुलाई दिन चाहानुभएको सन्देश के छ ?
कडा परिश्रम र सकारात्मकता नै जीवनको मेरुदण्ड हो भन्ने लाग्छ। जीवनमा उतारचढाव त आउँछन् नै, त्यसलाई स्वीकार गरेर अघि बढ्दा जीवन सजिलो हुन्छ। आमाले नकारात्मक प्रभावहरूबाट टाढा रहन सम्झाउनु भएको थियो, जुन म सधैं मनमा राख्छु। धार्मिक आस्थासँगै आत्मा शान्ति र परिवारमा सकारात्मकता ल्याउन म लागि रहन्छु।

अस्ट्रेलियामा हुर्किरहेको सन्तानमा नेपाली संस्कृतिक पहिचान कसरी कायम राख्नुहुन्छ ?
हाम्रो नेपाली संस्कृति हाम्रो अस्तित्वसँगै जोडिएको छ। घरमा नेपाली भाषामा कुरा गर्छु र बच्चाहरूलाई पनि यसको महत्व बुझाउँछु, यसले गर्दा उनीहरूमा संस्कार बाँचिरहन्छ। यो चुनौतीपूर्ण छ, तर म विश्वास गर्छु प्रेम, सम्मान र समझदारीले हाम्रो संस्कृतिलाई जीवन्त राख्छ।
सम्बन्धमा कुन मूल्यलाई तपाइले सबै भन्दा महत्वपूर्ण मान्नुहुन्छ ?
पारस्परिक सहयोग र सम्मान नै सम्बन्धको जग हो। मेरो श्रीमान् निकै धैर्यवान् र भित्री दृष्टिकोणलाई बुझ्न सिपालु हुनुहुन्छ। यी गुणहरूले हाम्रो सम्बन्धलाई बलियो बनाएका छन्। हामी एक-अर्काका सपना पूरा गर्न सधैं सहकार्य गर्छौं र हाम्रो सम्बन्धमा अहंकारको स्थान छैन। यसले हाम्रो बन्धन अझ मजबुत बनाएको छ।



