Wednesday, May 27, 2026
Zenith Migration Education
Wednesday, May 27, 2026

गृह मन्त्रालयले बाढी प्रभावित ८ जिल्लामा सहसचिवहरूको नेतृत्वमा टोली खटाएको छ

Zenith Migration Education

गृह मन्त्रालयले अति भारी वर्षाले प्रभावित आठ जिल्लामा खोज, उद्धार, र राहत उपलब्ध गराउन थप समन्वय र सहजीकरण गर्न गठन गरेको कार्यदलका संयोजकहरू बुधबारदेखि फिल्डमा सक्रिय छन्। गृहसचिव गोकर्णमणि दुवाडीका अनुसार, आवश्यक निर्देशनसहित आठ जना सह–सचिवलाई प्रभावित जिल्लामा खटाइएको छ।

बाढी–पहिरो प्रभावित जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक र धादिङमा खटाइएको हो । गृह मन्त्रालयका अनुसार काठमाडौंमा गोविन्द प्रसाद रिजाल, ललितपुरमा प्रकाश पौडेल, भक्तपुरमा नारायण प्रसाद अर्याल, काभ्रेपालञ्चोकमा बासुदेव घिमिरे, सिन्धुलीमा लालबाबु कवारी, मकवानपुरमा रामबन्धु सुवेदी, सिन्धुपाल्चोकमा श्याम कृष्ण थापा र धादिङमा रमेश ढकाललाई खटाइएको छ ।

कार्यदललाई अति भारी वर्षका कारण उत्पन्न बाढी–पहिरोबाट प्रभावितहरूको तत्काल उद्धार तथा राहत कार्यमा समन्वय र सहजीकरण गर्ने, अति भारी वर्षाका कारण आएको बाढी–पहिरोबाट भएको मानवीय र भौतिक क्षतिको संक्षिप्त विवरण तयार गरी तत्काल गर्नुपर्ने कार्यका सम्वन्धमा सुझाव दिने, क्षतिग्रस्त सडकहरूको शीघ्र मर्मत संम्भार गरी सञ्चालनमा ल्याउन सडक निमार्ण गर्ने सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने र विपद् पीडित नागरिकहरूको सुरक्षित बसोबास तथा राहत उपलब्ध गराउने सम्बन्धमा सम्बन्धित स्थानीय तहसँग समन्वय गर्ने कार्यदेश दिइएको छ ।

कार्यदलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालय,  ऊर्जा, जलस्रोत तथा सिचाईँ मन्त्रालयका डिभिजन इन्जिनियर र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव प्रतिनिधि रहने छन् । कार्यदललाई आगामी असोज २१ सम्म गृह मन्त्रालयमा प्रतिवेदन पेस गर्न समयावधि दिइएको छ । साथै कार्यदलले दैनिक रुपमा पनि प्रभावित ठाउँबाट जिल्लाको विपद्को वस्तुस्थितीका बारेमा केन्द्रमा जानकारी समेत गराउने छ ।

त्यसैगरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि १० जना शाखा अधिकृत प्रभावित जिल्लामा खटाएको छ । प्राधिकरणका सहसचिव बसन्त अधिकारीले ‘एक्सन टिम’ तयार गरी बुधबार नै प्रभावित पालिकाहरूमा खटाइएको जानकारी दिए । ‘हामीले दश जना अधिकृतलाई बाढी÷पहिरो र डुबान प्रभावित जिल्लामा खटाएका छौँ’, अधिकारीले भने, ‘उहाँहरूले प्रभावित पालिकासित समन्वय र सम्र्पक गरेर नगद र वस्तु राहत वितरणमा सहजीकरण र फिल्डको अवस्थाका बारेमा केन्द्रमा जानकारी गराउने लगायतका काम गर्नेछ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु