Thursday, May 28, 2026
Zenith Migration Education
Thursday, May 28, 2026

सिमलताल बस दुर्घटनाका बेपत्ता खोज्न आइपुग्यो भारतीय उद्धार टोली

Zenith Migration Education

गत असार २८ गते नारायणगढ-मुग्लिन सडकखण्डको चितवनको भरतपुर महानगरपालिका-२९, सिमलतालमा लेदोसहित खसेको पहिरोले त्रिशूली नदीमा बगाएका दुई बसका बेपत्ता यात्रुहरूको खोजीका लागि भारतीय उद्धार टोली आइपुगेको छ। टोली आजै उद्धार र खोजी कार्यमा सहभागी हुँदै छ।

दुर्घटनामा बेपत्ता भएकाहरूको खोजीमा भारतले सहयोग गर्ने वाचा नेपालका गृहमन्त्री रमेश लेखकसँगको हालैको भेटमा भारतीय राजदूत नवीन श्रीवासतवले गरेका थिए। सोही प्रतिबद्धताअनुसार भारतबाट उद्धार टोली आएको हो।

बेपत्ताहरूको खोजीका लागि भारतबाट आएको विशेषज्ञ टोली आजै चितवन आइपुगेको छ। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार, १२ सदस्यीय भारतीय टोलीले घटनास्थलमा पुगेर काम थाल्नेछ। यो टोली नेशनल डिजास्टर रेस्पोन्स फोर्सबाट विशेषज्ञहरूसहितको समूह हो, जसले सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम केन्द्रसँग मिलेर कार्य गर्नेछ।

त्रिशूली नदीमा खसेको बसमा रहेका यात्रुमध्ये २५ जनाको शव फेला परेको छ भने ३७ जना अझै बेपत्ता छन्। दुर्घटनामा परेका बसबाट ३ यात्रु पौडी खेलेर बाँच्न सफल भएका थिए।

सिमलताल क्षेत्रमा हराइरहेका दुई बस अझै फेला परेका छैनन् भने यात्रुहरूको शव १०० किलोमिटर पर भारतीय भूमिमा समेत भेटिएको छ। जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार, हालसम्म २५ वटा शव फेला परेका छन्, जसमध्ये २१ पुरुष र ४ महिला छन्। तीमध्ये १८ जनाको सनाखत भइसकेको छ र परिवारले शव बुझिसकेका छन्। बसमा ६५ जना यात्रु सवार थिए।

घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, र नेपाल प्रहरीका पाँच सय सुरक्षाकर्मी सोनार क्यामेरा, र्‍याफ्टबोट, मोटरबोट, गोताखोर, र पैदलमार्फत खोजी कार्य गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु