भरतपुर महानगरपालिका-२९ सिमलतालमा दुईवटा यात्रुबाहक बस पहिरोले बगाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, आज बिहान करिब ३:३० बजे सडकमाथिबाट खसेको पहिरोले ती बसहरू बगाएको हो। बसमा कति यात्रु थिए भन्ने अझै खुल्न सकेको छैन, तर ३ जना यात्रु भने बाहिर निस्कन सफल भएको डीएसपी भेषराज रिजालले जानकारी दिए। घटनास्थलमा प्रहरी पुगिसकेको छ, तर पानी परिरहेकोले उद्धारमा समस्या भएको छ।
बाहिर निस्कन सफल भएका तीनजना यात्रु रहेको बस काठमाडौंबाट गौरतर्फ जाँदै थियो।
त्यस्तै, सत्रकिलोमा माथिबाट खसेको ढुङ्गाले अर्को यात्रुबाहक बसको चालकको मृत्यु भएको छ। बुटवलबाट काठमाडौं जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसका चालक मेघनाथ विक गम्भीर घाइते भएका थिए र उपचारको क्रममा उनको मृत्यु भएको डीएसपी रिजालले जनाएका छन्।
अहिले जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक भावेश रिजालको टोली र सशस्त्र प्रहरी पनि घटनास्थलमा खटिएका छन्।



