Sunday, July 26, 2026
Zenith Migration Education
Sunday, July 26, 2026

वन्यजन्तुले मकै सखाप पारेपछि उदयपुरका किसान केराखेतीमा आकर्षित

Zenith Migration Education

कटारी (उदयपुर): कटारी नगरपालिका–८ का किसानलाई दुम्सी, सुगा र बाँदरबाट खेती जोगाउन समस्या भएपछि उनीहरु बैकल्पिक खेतीमा आकर्षित भएका छन् । मकै, कोदोबालीलाई जङ्गली पशुपक्षीले सखाप पारेपछि उनीहरु केराखेतीमा लागेका हुन् ।

केराखेतीबाट आम्दानी हुन थालेपछि आफूहरु व्यावसायिक रूपमै खेती गर्न थालेको किसान लाखबहादुर राई बताउँनुभयो । “चार सय जति केराको बोट लगाएको छु, यसबाट आम्दानी लिन थालको छु”, उहाँले भन्नुभयो, “गत वर्ष पनि झण्डै रु एक लाखको केरा बेचेँ यस वर्ष झनै केराखेती बढाएको छु ।” भोटाङ्गे, मर्चे, जहाजी जातका केराखेती गरिरहेका किसानको मुख्यबजार पहाडी जिल्ला सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ बनेको छ । “पहाडी जिल्लाका व्यापारी घरमै केरा लिन आउँछन् त्यसैले बजार लैजानुपर्ने झन्झट पनि हटेको छ ।” कटारी–८ ढापटारका किसान रत्नबहादुर विश्वकर्माले भन्नुभयो, “फलाएपछि भयो, व्यापारीले बारीबाट आफैँ केरा उठाउँछन् ।” किसान साङ्दोेर्जे तामाङले मकै सखाप पार्ने दुम्सी, सुगा चराबाट आजित हुननपरेको बताउनुभयो ।

स्थानीय किसानले थोरैमा प्रतिघर बर्सेनि रु ५० हजारदेखि दुई लाखसम्म केराबाटै आम्दानी लिने गरेका जनाइएको छ । पाखो झाडी सफा गरेर केराखेती सुरु गरेका किसानले यसैलाई पहिलो नगदे बालीका रूपमा मन पराउन थालेको कटारी –८ वडाध्यक्ष नवीन्द्र तामाङले बताउनुभयो । नौ रोपनी जग्गामा केराखेती गरिरहेका ढापटारकै मोहन कोइरालाले व्यापारीले बारीमै प्रतिखापा रु ५० ले लैजाने गर्दा आम्दानी राम्रो भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अझै गाउँगाउँसम्म जाने बाटो राम्रो छैन, त्यसैले मूलबाटोसम्म लैजाने बिचौलियाले यहीँको यहीँ रु ८० खापामा बेच्ने गरेका छन् ।” वडाध्यक्ष तामाङका अनुसार वडाका हलेदे, मरुवाखानी, केराबारी, पटना, कवासे, गेरु, सिक्रे, ढापटार, वड्मी, माटे, खलङ्गेका गरी चार सय ५० हाराहारीका किसानले केराखेती गर्दै आइरहेका छन् । केराखेती फस्टाएपछि कृषि ज्ञान केन्द्रले पनि खेती प्रणालीसम्बन्धी तालिम किसानलाई दिइसकेको छ । तालिम लिएपछि झनै केराखेतीमा हौसिएका किसानले वडालाई केरा पकेट क्षेत्र बनाउन माग गरेका छन् । परम्परागत अन्नखेतीभन्दा केराबाट तेब्बर आम्दानी हुने गरेको किसान बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु