Wednesday, July 22, 2026
Zenith Migration Education
Wednesday, July 22, 2026

सिड्नीमा हेमन्त शर्माको सांगीतिक साँझ : नेपाली समुदायको माया र सम्मानको अविस्मरणीय क्षण

Zenith Migration Education

सिड्नी – शुक्रबार साँझ सिड्नीको ग्रेनभिलमा रहेको फ्लेवर्स अफ नेपाल नेपाली रेस्टुरेन्टमा आयोजित विशेष सांगीतिक कार्यक्रममा गायक हेमन्त शर्माले दर्शकलाई झुमाए। उनले आफ्ना लोकप्रिय गीतहरू “माया गर्छु भन्ने ले माया देखाइदेउ” र “थाप न थाप हातैमा मायाको चिनो मैयालु” गाएर कार्यक्रमलाई झन् उत्साहित बनाएका थिए। जब उनले ‘माइकलियर’ जसै सदाबहार गीत प्रस्तुत गरे, दर्शकहरूको तालीले हल गुञ्जायमान बन्यो। यो साँझले सबै उमेर समूहका दर्शकलाई एकताबद्ध गर्दै कार्यक्रमलाई थप विशेष बनायो।

गायक शर्मालाई ‘फ्लेवर्स अफ नेपाल’का सञ्चालक राजेश केसी, वरिष्ठ पत्रकार हेमन्थ काफ्ले, एनआरएन टीभीका प्रस्तोता वरिष्ठ पत्रकार राजन घिमिरे, एनआरएनए एनएसडब्ल्यू संयोजक विनोद कुँवर, पण्डित नारायण सास्त्री, हिन्दु समाजका अध्यक्ष लेखनाथ बास्तोला, र एनआरएनएका केशव खड्काले संयुक्त रूपमा कदर पत्र प्रदान गर्दै सम्मान गरे।

केही हप्ता अघि मात्र अष्ट्रेलिया आएका हेमन्तले यसअघि मेलबर्नलगायतका शहरहरूमा प्रस्तुति दिइसकेका छन्। सिड्नीको यस कार्यक्रममा सदाबहार गीतहरू मार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरेका शर्माले एडिलेडको सांगीतिक कार्यक्रमपछि नोभेम्बर २३ मा सिड्नीमा आयोजना हुने नेपाल महोत्सव २०२४ मा पनि आफ्नो प्रस्तुति दिने जानकारी दिए।

कार्यक्रमको आयोजना नेपाली रेस्टुरेन्ट ‘फ्लेवर्स अफ नेपाल’ले गरेको हो, जसले यसअघि सिन्दु मल्ल, बद्री पंगेनी, र रामकृष्ण ढकालजस्ता कलाकारहरूलाई सम्मान गर्दै नेपाली कला र संस्कृतिको प्रवर्द्धनमा योगदान पुर्‍याउँदै आएको छ। आयोजकका अनुसार यस कार्यक्रमले नेपाली समुदायलाई एकत्रित गर्दै नेपाली कला र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने उद्देश्य राखेको थियो।

गायक हेमन्त शर्माले अष्ट्रेलियामा नेपाली समुदायबाट पाएको माया र सम्मानप्रति आभार व्यक्त गर्दै यस साँझलाई अविस्मरणीय क्षणका रूपमा सम्झे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु