Wednesday, May 27, 2026
Zenith Migration Education
Wednesday, May 27, 2026

एनआरएनएले प्रधानमन्त्री राहत कोषमा ५१ लाख सहयोग प्रदान

Zenith Migration Education

काठमाडौं, २३ असोज – गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ५१ लाख रुपैयाँ प्रधानमन्त्री दिव्य विपत्ति राहत कोषमा प्रदान गरेको छ। संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा रहेको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरी उक्त सहयोग हस्तान्तरण गरेको हो। बाढी, पहिरो र डुबानजस्ता प्राकृतिक विपत्तिबाट पिडित जनताको सहयोगार्थ संघले एक करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो, जसअनुसार पहिलो चरणमा ५१ लाख रुपैयाँ हस्तान्तरण गरिएको छ।

प्रधानमन्त्री ओलीलाई भेट्ने क्रममा अध्यक्ष डा. केसीले गैरआवासीय नेपालीहरूले नेपाली नागरिकताको विषयमा झेल्नुपरेका कानुनी जटिलताहरूबारे पनि ध्यानाकर्षण गराएका थिए। एनआरएन नागरिकता पाएपछि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको प्रयोगमा अवरोध आउने समस्याहरूलाई समधान गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गरिएको थियो। साथै, उनले युकेका भूपू गोरखाहरूले समान पेन्सन र अधिकारको माग राख्दै आएका विषयमा पनि सरकारको ध्यानाकर्षण गराउँदै उक्त विषयमा मन्त्रालयस्तरीय वार्ता आवश्यक भएको बताए।

प्रधानमन्त्री ओलीले विपत्तिको समयमा मानवीय सहयोग जुटाएर अगाडि आएकोमा एनआरएनएप्रति धन्यवाद ज्ञापन गर्दै भने, “एकपटक नेपाली भनेपछि सधैं नेपाली नै रहन्छ। संविधानले दिएको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरू सुरक्षित छन्, तर द्वैध नागरिकताको जटिलताबारे गम्भीर छलफल आवश्यक छ।” उनले भूपू गोरखाहरूका समस्या समाधान गर्न सरकार जागरूक रहेको पनि बताए।

साथै, प्रधानमन्त्रीले संघलाई सम्पूर्ण गैरआवासीय नेपालीहरूको साझा संगठनका रूपमा अगाडि बढ्न सुझाव दिए। राजनीतिक निहितार्थभन्दा बाहिर रहेर गैरआवासीय नेपालीहरूको हितमा काम गर्ने सन्देश उनले संघलाई दिए।

कार्यक्रममा संघका उपाध्यक्ष रामशरण सिम्खडा, कोषाध्यक्ष सुदन थापा, सहकोषाध्यक्ष कृष्णप्रसाद तिमिल्सिना, एशिया प्रशान्त क्षेत्रीय समन्वयक हरि भट्टराई, क्षेत्रीय महिला उपसंयोजक इन्दिरा त्रिपाठी लगायत अन्य सदस्यहरूको पनि उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु