Monday, September 7, 2026
Zenith Migration Education
Monday, September 7, 2026

सिड्नीमा सुशान्तको स्वरले पारामाटा गुन्जियो

Zenith Migration Education

सिड्नी — शनिबार राति अस्ट्रेलियाको सिड्नीस्थित पारामाटाका सडक नेपाली युवायुवतीको भीडले भरिएका थिए। ट्रेन स्टेसनदेखि पारामाटा पार्कसम्म सडकका दुवैतर्फका पेटीमा रंगीचंगी पहिरनमा सजिएका हजारौं नेपाली एकै दिशातर्फ लम्किरहेका थिए।

सडकमा यति ठूलो भीड हत्तपत्त नदेख्ने स्थानीय अस्ट्रेलियनहरूका लागि दृश्य कौतुहलको विषय बनेको थियो—‘आज यहाँ के हुँदैछ?’

करिब सात हजार नेपाली संगीतप्रेमी पारामाटाको क्रेसेन्ट पार्कतर्फ पुग्दै गर्दा नेपाली युवा गायक सुशान्त केसी आफ्ना प्रशंसकको सांगीतिक प्यास मेटाउन मञ्चमा उक्लिएका थिए।

कार्यक्रम सञ्चालक रञ्जितराज वन्तले नेपालमा हालै भएको बाढीपहिरोमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडितको सहयोगका लागि आयोजित सांगीतिक कार्यक्रम सुरु भएको घोषणा गरे। त्यसलगत्तै क्रेसेन्ट पार्क नेपाली गीत–संगीतले गुन्जायमान भयो।

सिड्नीमा अध्ययन सकेर नेपाल फर्किएका सुशान्तको अस्ट्रेलिया ‘क्रेज’ कार्यक्रममा देखिएको उपस्थितिले प्रस्ट पारेको थियो। विशेषगरी युवा पुस्तामाझ उनका गीतले गहिरो प्रभाव पारेको देखिन्थ्यो।

नेपाली पप संगीतमा आफ्नो छुट्टै पहिचान बनाएका सुशान्तले करिब तीन घण्टाको अवधिमा झन्डै दुई दर्जन लोकप्रिय गीत प्रस्तुत गरे। ‘साथी’, ‘सारंगी’, ‘आमा’, ‘पर्ख न’, ‘बार्दलीमा’ लगायतका चर्चित गीतमा दर्शक–श्रोता झुमिरहेका थिए।

पारामाटाको क्रेसेन्ट पार्क चर्चित पश्चिमा कलाकारका ठूला ओपन–एयर कार्यक्रमका लागि परिचित स्थल हो। यही स्थलमा पहिलोपटक कुनै नेपाली कलाकारको प्रस्तुति भएकाले पनि कार्यक्रमलाई विशेष महत्त्वका साथ हेरिएको थियो।

राति साढे १० बजे कन्सर्ट सकिएपछि पनि कार्यक्रमको प्रभाव पारामाटाका सडकमा देखिन्थ्यो। केही सडकमा सवारी जाम देखियो भने पारामाटाको ट्रेन नेपाली दर्शकले भरिएको थियो। सिड्नीमा पहिलोपटक यति ठूलो संख्यामा नेपाली दर्शकको उपस्थितिमा भएको यो कार्यक्रम सांगीतिक रूपमा मात्र होइन, नेपाली समुदायको उपस्थिति र प्रभावका हिसाबले पनि उल्लेखनीय रह्यो।

‘सायद अस्ट्रेलिया र सिड्नीसँग मेरो जोडिएको सम्बन्धले पनि हुन सक्छ, यहाँ मैले अपार माया र समर्थन पाउने गरेको छु,’ कन्सर्टपछि सुशान्तले भने, ‘देश दुखेको बेलामा पनि गीत–संगीतको माध्यमबाट सहयोग गर्न सकिन्छ भन्ने उद्देश्य र पीडाबीच मुस्कान छर्ने मेरो लक्ष्य पूरा भएको मैले ठानेको छु।’

कार्यक्रमकै क्रममा सुशान्तले नेपालका बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा १० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको जनाइएको छ।

कार्यक्रम आयोजक टीआरएनका प्रदीप पाठकले नेपाली कलाकार अन्तर्राष्ट्रिय कलाकारभन्दा कम छैनन् भन्ने सन्देश दिने उद्देश्यले क्रेसेन्ट पार्कमा कार्यक्रम आयोजना गरिएको बताए।

‘खर्चको हिसाबभन्दा पनि नेपाली कलाकार पनि अन्तर्राष्ट्रिय कलाकारभन्दा कम छैनन् भन्ने सोचका साथ पहिलोपटक क्रेसेन्टमा कार्यक्रम आयोजना गरेका हौं,’ पाठकले भने, ‘नाफा–घाटाभन्दा पनि दर्शक–श्रोताको उपस्थिति र उत्साहले कार्यक्रम सफल भयो। यसैमा खुसी छु।’

सिड्नीको नेपाली समुदायको ठूलो उपस्थितिबीच सम्पन्न कार्यक्रमले नेपाली संगीतप्रति अस्ट्रेलियामा बढ्दो आकर्षण र नयाँ पुस्तामाझ नेपाली कलाकारको प्रभावलाई समेत उजागर गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु