वाल्चा, अस्ट्रेलिया — नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायको सहयोगका लागि अस्ट्रेलियाको वाल्चामा आयोजित राहत अभियानबाट करिब २७ हजार अस्ट्रेलियन डलर संकलन भएको छ।
वाल्चास्थित एप्स्ली आर्म्स होटलमा आयोजित क्यान्डल लाइट, र्याफल तथा अक्सन कार्यक्रमबाट उक्त रकम संकलन भएको हो। कार्यक्रममा २५० भन्दा बढी नेपाली तथा स्थानीय समुदायका सदस्य सहभागी भएका थिए।
नेपालमा बाढीबाट ठूलो जनधनको क्षति भएको खबरपछि नेपाली समुदायले प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले अभियान सुरु गरेको थियो। नेपाली समुदायको पहलमा सुरु भएको अभियानमा वाल्चाका स्थानीय बासिन्दा, व्यवसायी, क्लब तथा विभिन्न संस्थाले साथ दिएपछि यो व्यापक सामुदायिक अभियानमा परिणत भएको आयोजकले जनाएको छ।
कार्यक्रममा वाल्चा काउन्सिलका मेयर एरिक नोभाकसले नेपालमा आएको विपत्तिप्रति दुःख व्यक्त गर्दै नेपाली समुदायको दुःखमा स्थानीय समुदाय पनि साथमा रहेको बताएका थिए। उनले स्थानीय बासिन्दालाई आफ्नो क्षमताअनुसार अभियानमा सहयोग गर्न आह्वान गरेका थिए।
मेयरको आह्वानपछि स्थानीय बासिन्दा, व्यवसायी, संस्था तथा विभिन्न समुदायका व्यक्तिले आर्थिक तथा सामग्री सहयोग गरेका थिए। नेपालमा हजारौँ किलोमिटर टाढा भएको विपत्तिमा वाल्चा समुदायले देखाएको सहयोग नेपाली समुदायका लागि भावुक र स्मरणीय बनेको आयोजकले जनाएको छ।
कार्यक्रमस्थलमा नेपाली संस्कृति र पहिचान झल्काउने विभिन्न सामग्रीका स्टलसमेत राखिएका थिए। स्टलमा खुकुरी, थैलीलगायत नेपाली परम्परा र संस्कृति झल्काउने सामग्री प्रदर्शन तथा बिक्रीका लागि राखिएको थियो। नेपाली मौलिकता झल्काउने सामग्रीले स्थानीय अस्ट्रेलियाली समुदायलाई नेपालको संस्कृति र परम्पराबारे जानकारी गराउनसमेत सहयोग गरेको थियो। सामग्री बिक्रीबाट प्राप्त रकम पनि राहत अभियानमा जोडिएको आयोजकले जनाएको छ।
अक्सनमा स्थानीय व्यवसाय, संस्था तथा व्यक्तिले उपलब्ध गराएका विभिन्न सामग्री तथा उपहार राखिएका थिए। सहभागीहरूले उत्साहपूर्वक बोली लगाउँदै राहत रकम संकलनमा योगदान गरेका थिए। वाल्चा कम्युनिटी, वाल्चा मेन्स सेड, अक्स्ली राइडर्स, रोटरी क्लब वाल्चा, लायन्स क्लब वाल्चा, वाल्चाका स्थानीय व्यवसायी, निकोल आर्ट तथा ब्रायन स्मिथ टिम्बर ट्रान्सपोर्ट लगायतले अभियानमा सहयोग गरेका थिए।
र्याफलका लागि पनि स्थानीय व्यवसायी तथा व्यक्तिले विभिन्न सामग्री तथा उपहार उपलब्ध गराएका थिए। व्यवसायी तथा सर्वसाधारणको साना–ठूला सहयोगबाट करिब २७ हजार डलर संकलन गर्न सम्भव भएको आयोजकले जनाएको छ।
कार्यक्रम सफल बनाउन नेपाली चलचित्र निर्देशक शोभित बस्नेत तथा सिड्नी निवासी व्यवसायी सन्तोष तिवारीको विशेष भूमिका रहेको थियो। उनीहरूको पहल, समन्वय र सक्रिय सहभागितामा नेपाली तथा स्थानीय समुदायलाई एकजुट गर्दै राहत अभियानलाई प्रभावकारी रूपमा अघि बढाइएको आयोजकले जनाएको छ।
बस्नेत र तिवारीसहित नेपाली तथा स्थानीय समुदायको सामूहिक प्रयासमा क्यान्डल लाइट, र्याफल, अक्सन तथा नेपाली संस्कृति झल्काउने सामग्रीका स्टल सञ्चालन गरिएको थियो। अभियानमा टामवर्थ नेपाली कम्युनिटी र आर्मिडेल नेपाली कम्युनिटीबाट समेत सहयोग प्राप्त भएको थियो।
कार्यक्रमका आयोजक तथा एप्स्ली आर्म्स होटल वाल्चाका निर्देशक गणेश सेढाईंले सहयोग गर्ने सम्पूर्ण समुदायप्रति आभार व्यक्त गरेका छन्।
“नेपालमा हाम्रो परिवार, आफन्त र हजारौँ मानिस कठिन परिस्थितिमा रहेका बेला वाल्चा समुदायले देखाउनुभएको माया र सहयोग हाम्रो जीवनभर सम्झनामा रहनेछ,” सेढाईंले भने।
उनका अनुसार संकलित रकम आर्थिक सहयोग मात्र नभई नेपालमा विपत्तिमा परेकाप्रति वाल्चा समुदायले देखाएको मानवीय ऐक्यबद्धताको प्रतीक हो।
“यो २७ हजार डलर केवल रकम होइन। यसमा वाल्चा समुदायको माया, नेपाली समुदायको पीडा, स्थानीय व्यवसायीहरूको उदारता र सहयोग गर्ने प्रत्येक व्यक्तिको मानवता जोडिएको छ,” सेढाईंले भने।
“हामी नेपालमा प्रत्यक्ष पुगेर सबैलाई सहयोग गर्न नसके पनि यहाँबाट पठाइएको यो सहयोगले कसैको जीवनमा थोरै भए पनि आशा ल्याउन सकेमा हाम्रो प्रयास सफल हुनेछ,” उनले भने।
सेढाईंले मेयर एरिक नोभाकस, वाल्चा काउन्सिल, स्थानीय व्यवसायी, विभिन्न क्लब तथा संस्था, अक्सन र र्याफलका लागि सहयोग गर्ने व्यक्ति तथा व्यवसाय, टामवर्थ तथा आर्मिडेलका नेपाली समुदाय र कार्यक्रममा सहभागी २५० भन्दा बढी व्यक्तिलाई धन्यवाद दिएका छन्।
नेपालबाट हजारौँ किलोमिटर टाढा रहेको सानो ग्रामीण समुदाय वाल्चाबाट बाढीपीडितका लागि संकलित सहयोगले नेपाली र स्थानीय समुदायबीचको मानवीय सम्बन्धलाई थप बलियो बनाएको आयोजकको भनाइ छ।
नेपालमा आएको विपत्तिमा हजारौँ किलोमिटर टाढाको वाल्चा समुदायले देखाएको यो साथले मानवीय संवेदना, सहकार्य र एकताको कुनै सीमा हुँदैन भन्ने सन्देश दिएको छ।







