Wednesday, August 19, 2026
Zenith Migration Education
Wednesday, August 19, 2026

गरिमा हत्या प्रकरणमा दुई जना पक्राउ, अनुसन्धानमा नयाँ खुलासा

Zenith Migration Education

बारा — जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरकी तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा बालिकालाई चकलेटको प्रलोभन देखाएर सुनसान पुरानो घरमा लगेर जबर्जस्ती करणीपछि हत्या गरिएको खुलेको जनाएको छ।

साउन ३१ गते बिहानदेखि बेपत्ता रहेकी गरिमा मंगलबार साँझ भक्तिनगरस्थित मानिस नबस्ने पुरानो घरमा मृत अवस्थामा फेला परेकी थिइन्। स्थानीयले घरबाट दुर्गन्ध आएपछि हेर्दा बालिकाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

घटनालगत्तै इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलीप क्षेत्रीको नेतृत्वमा प्रहरी टोली तथा जिल्ला प्रहरी कार्यालय बाराबाट SOCO टोली घटनास्थल पुगेको थियो। अनुसन्धानका क्रममा प्रदेश प्रहरी कार्यालय पर्साबाट ल्याइएको तालिमप्राप्त कुकुरको समेत प्रयोग गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जितपुरसिमरा–२ बस्ने १६ वर्षीय म्याजिक सहचालक सुमन थापाले बालिकालाई चकलेटको प्रलोभन देखाई आफ्नो घरभन्दा करिब एक सय मिटर टाढा रहेको सुनसान पुरानो घरमा लगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सुमन थापा र ना.१ ज ७७५८ नम्बरको म्याजिकका धनी २४ वर्षीय प्रोग्रेस चौधरीलाई नियन्त्रणमा लिएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनापछि स्थानीय आक्रोशित बनेका छन्। दोषीलाई कडा कारबाहीको माग गर्दै स्थानीयले बुधबार पथलैया–वीरगन्ज सडकखण्डमा टायर बालेर प्रदर्शन गरेका छन्।

सिमा ठकुरी, बारा

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु