Wednesday, August 19, 2026
Zenith Migration Education
Wednesday, August 19, 2026

तीन वर्षीया गरिमा मृत फेला, बलात्कारपछि हत्या आशंका

Zenith Migration Education

बारा — जीतपुरसिमरा उपमहानगरपालिका–१, सिमराबाट तीन दिनदेखि बेपत्ता रहेकी तीन वर्षीया गरिमा चौधरी मृत फेला परेकी छन्। उनको बलात्कारपछि हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ।

आइतबार बिहानदेखि बेपत्ता भएकी चौधरीको शव बुधबार जीतपुरसिमरा–१ कै भक्तिटोलस्थित सुनसान स्थानमा रहेको एक घरमा फेला परेको हो। घरबाट दुर्गन्ध आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

चौधरी जीतपुरसिमरा–२ स्थित सरस्वती आधारभूत विद्यालयमा नर्सरी कक्षामा अध्ययनरत थिइन्।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट समेत प्रहरी टोली परिचालन गरिएको छ। प्रहरीले बालिकाको मृत्युको कारण र घटनामा संलग्न व्यक्तिबारे अनुसन्धान अघि बढाएको जनाएको छ।

घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कानुनबमोजिम कडा कारबाही गर्न स्थानीयले माग गरेका छन्। घटनापछि स्थानीय समुदायमा शोक र आक्रोश छाएको छ।

समाजसेवी मनोज पुरीले अबोध बालिकाको मृत्युले परिवारसँगै सिंगो समुदायलाई स्तब्ध बनाएको बताए। “यस्तो अमानवीय घटनामा संलग्न जोसुकै भए पनि कानुनी कठघरामा ल्याई पीडित परिवारलाई न्याय दिलाउन आवश्यक छ,” उनले भने।

सिमा ठकुरी, बारा

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु