Friday, August 14, 2026
Zenith Migration Education
Friday, August 14, 2026

कास्कीमा लागूऔषधविरुद्ध प्रहरीको कारबाही, दुई जना पक्राउ

Zenith Migration Education

सिरहा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधविरुद्ध सञ्चालन गरेको अभियानअन्तर्गत विभिन्न किसिमका लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले पोखरा महानगरपालिका–२, बाग्लुङ बसपार्क क्षेत्रमा चेकजाँच गर्ने क्रममा धनकुटा चौबिसे गाउँपालिका–८ स्थायी ठेगाना भई हाल पोखरा महानगरपालिका–२५ हेम्जामा बस्दै आएका २३ वर्षीय मनोज लिम्बूलाई पक्राउ गरेको हो ।

उनको साथबाट डाइजापाम २१ एम्पुल, फेनारगन २० एम्पुल र नुफिन २० एम्पुल गरी जम्मा ६१ एम्पुल लागू औषध, एक थान मोबाइल र नगद २१ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, वडा प्रहरी कार्यालय बैदाम, बगर र राम बजारबाट खटिएको संयुक्त प्रहरी टोलीले पोखरा–९ नागढुंगामा लागू औषध बिक्री–वितरण भइरहेको सूचनाका आधारमा पर्वत मोदी गाउँपालिका–४ स्थायी ठेगाना भई हाल पोखरा–९ नागढुंगामा बस्ने २२ वर्षीय मोहम्मद इशाक सरिफलाई पक्राउ गरेको छ । उनको साथबाट ५ किलो गाँजा, ट्रामाडोल हाइड्रोक्लोराइड ७९० चक्की, टापेन्टाडोल ३६६ चक्की, दुई थान मोबाइल र एक थान डिजिटल तराजु बरामद गरिएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा सरिफले पोखरा–१४ युनिटोलमा बस्ने २६ वर्षीय आविष्कार सारूबाट लागू औषध खरिद गरेको खुलेपछि उनको कोठामा खानतलासी गर्दा थप टापेन्टाडोल ९ हजार चक्की बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरूलाई लागू औषधसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । मनोज लिम्बूलाई ७ दिन र मोहम्मद इशाक सरिफ तथा आविष्कार सारूलाई ८ दिनको म्याद थप गरिएको प्रहरीको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार लागू औषधको ओसारपसार तथा बिक्री–वितरण नियन्त्रणका लागि प्रहरीले निगरानी र कारबाहीलाई निरन्तरता दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु