काठमाडौं । मण्डला थिएटर-नेपालले मण्डला ड्रामा स्कूल (MDS) को तेस्रो ब्याच (२०२६-२०२७) का विद्यार्थीहरूको स्वागत कार्यक्रम शुक्रबार मण्डला थिएटर, काठमाडौंमा सफलतापूर्वक सम्पन्न गरेको छ।
स्वागत कार्यक्रमसँगै युरोपियन युनियनको आर्थिक सहयोगमा सञ्चालित RANGA (Reclaiming Advocacy through Narratives, Debates, Grassroot Theatre and Arts) परियोजना अन्तर्गत सञ्चालन हुने १८ महिने आवासीय नाट्य प्रशिक्षण कार्यक्रमको औपचारिक सुरुवात भएको छ।
मण्डला ड्रामा स्कूल मण्डला थिएटर-नेपालको प्रमुख कार्यक्रमहरु मध्ये एक हो, जसको उद्देश्य नेपालभरबाट सामाजिक रूपमा सचेत नाटक सर्जक, रंगकर्मी, प्रशिक्षक, लेखक, निर्देशक तथा सांस्कृतिक नेतृत्वकर्ताहरू तयार गर्नु हो। तेस्रो ब्याचका लागि देशभरबाट आवेदन दिएका युवामध्ये प्रतिस्पर्धात्मक छनोट प्रक्रियाबाट १५ जना सहभागी चयन भएका छन्।
स्वागत कार्यक्रमको अध्यक्षता मण्डला थिएटर-नेपालका अध्यक्ष बुद्धिराम तामाङले गरेका थिए भने नेपालका लागि युरोपियन युनियनकी राजदूत महामहिम भेरोनिक लोरेन्जो प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा नेपाल सरकारका विभिन्न निकाय, विश्वविद्यालय, विकास साझेदार संस्था तथा नेपाली रंगमञ्च क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा मण्डला थिएटर-नेपालले RANGA परियोजना र मण्डला ड्रामा स्कूलको उद्देश्य तथा यात्राबारे जानकारी गराएको थियो। साथै, तेस्रो ब्याचका सबै विद्यार्थीहरूको औपचारिक परिचय गराउँदै उनीहरूलाई स्वागत उपहार प्रदान गरिएको थियो।
मण्डला ड्रामा स्कूलको नयाँ पाठ्यक्रम अभ्यासमा आधारित र समुदायसँग जोडिएको छ। यसमा अभिनय शारीरिक तथा कलात्मक प्रशिक्षण, सहभागितामूलक तथा सामुदायिक रंगमञ्च, सिर्जनात्मक लेखन, प्राविधिक रंगमञ्च, अन्तरविषयक कला अभ्यास तथा स्वतन्त्र नाटक निर्माण प्रक्रियालाई तीन सेमेस्टरमा समेटिएको छ।
१८ महिनाको यस आवासीय कार्यक्रमले विद्यार्थीहरूलाई स्वतन्त्र, सामाजिक रूपमा सचेत र समुदायसँग सहकार्य गर्न सक्ने रंगकर्मीका रूपमा विकास गर्ने लक्ष्य राखेको छ।
कार्यक्रममा GIZ का प्रतिनिधिले मण्डला ड्रामा स्कूलका अघिल्ला दुई ब्याचसँगको आफ्नो अनुभव साझा गर्दै दीर्घकालीन नाट्य शिक्षाले युवा रंगकर्मीहरूको क्षमता विकासमा खेलेको भूमिकाबारे प्रकाश पारे ।
उनले पूर्व विद्यार्थीहरूले देशका विभिन्न ठाउँमा गरिरहेको योगदानको चर्चा गर्दै आगामी दिनमा पनि यस्ता प्रयासलाई निरन्तर सहयोग रहने विश्वास व्यक्त गरे ।
त्यसैगरी, युरोपियन युनियनकी राजदूत महामहिम भेरोनिक लोरेन्जोले आफ्नो विशेष सम्बोधनमा रंगमञ्चलाई संवाद, सांस्कृतिक संरक्षण र सामाजिक रूपान्तरणको प्रभावकारी माध्यमका रूपमा व्याख्या गरे।
नेपालका विभिन्न समुदायका युवा कलाकारहरूलाई अवसर प्रदान गर्दै आएको मण्डला थिएटर-नेपालको प्रयासको प्रशंसा गर्दै उनले विद्यार्थीहरूलाई जिज्ञासु, साहसी र समाजप्रति जिम्मेवार कलाकार बन्न प्रेरित गरे । उनले कला र सिर्जनशीलतालाई समावेशी, न्यायपूर्ण र सहिष्णु समाज निर्माणको माध्यमका रूपमा प्रयोग गर्न आग्रह गरे ।
कार्यक्रममा मण्डला एलुम्नाई सर्कलले नयाँ विद्यार्थीहरूको स्वागतमा विशेष नाट्य प्रस्तुति पनि प्रस्तुत गरेको थियो, जसले मण्डला ड्रामा स्कूलको सिर्जनशीलता, सहकार्य र रंगमञ्चीय यात्राको भावनालाई प्रस्तुत गरेको थियो।
स्वागत कार्यक्रमपछि विद्यार्थीहरूले मण्डला ड्रामा स्कूलमा आफ्नो १८ महिने आवासीय अध्ययन औपचारिक रूपमा सुरु गर्नेछन्। यस अवधिमा उनीहरूले अभ्यास, अनुसन्धान, नाटक निर्माण तथा समुदायसँगको सहकार्यमार्फत स्वतन्त्र र सामाजिक रूपमा जिम्मेवार रंगकर्मीका रूपमा आफूलाई विकास गर्नेछन् ।
कार्यक्रमको अन्त्यमा मण्डला थिएटर-नेपालका अध्यक्ष बुद्धिराम तामाङले धन्यवाद ज्ञापन गर्दै यस कार्यक्रमलाई सम्भव बनाएकोमा युरोपियन युनियन, परियोजनाका साझेदार संस्था डिबेट नेटवर्क नेपाल (DNN) र क्याम्पेन फर चेन्ज (CfC), सम्पूर्ण अतिथिहरू, साझेदार संस्था तथा सहयोगी सबैप्रति हार्दिक आभार व्यक्त गरे ।



