बारा — मिटरब्याजविरुद्ध जनकपुरबाट पैदल मार्च गर्दै काठमाडौंतर्फ अघि बढिरहेका आन्दोलनकारी र सरकारबीच मंगलबार बाराको निजगढमा पहिलो चरणको वार्ता सम्पन्न भएको छ।
निजगढस्थित उद्योग वाणिज्य संघको सभाहलमा भएको वार्तामा गृहमन्त्री सुधन गुरुङ नेतृत्वको सरकारी टोली र आन्दोलनरत मिटरब्याजपीडितका प्रतिनिधिबीच उनीहरूले अघि सारेका ६ बुँदे मागबारे विस्तृत छलफल भएको हो।
वार्तापछि आन्दोलनकारीका प्रतिनिधिहरूले पहिलो चरणको संवाद सकारात्मक रहेको जनाउँदै दोस्रो चरणको वार्ताका लागि सरकार र आन्दोलनरत दुवै पक्ष आन्तरिक गृहकार्यमा जुटेको बताएका छन्। गृहमन्त्री गुरुङले आन्दोलनकारीका मागबारे प्रधानमन्त्रीसँग छलफल गरी उचित निष्कर्षमा पुग्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
गृहमन्त्री सुधन गुरुङलाई निजगढ पुग्ने क्रममा सिमरा विमानस्थलमै बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र, जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी नरेन्द्र कुँवर, सशस्त्र प्रहरीका एसपी, राष्ट्रिय अनुसन्धान कार्यालय बाराका प्रमुख, सुरक्षा निकायका अन्य अधिकारी तथा जेन–जी बारा संयोजक सम्राट उपाध्याय लगायतले स्वागत गरेका थिए।
त्यसपछि गृहमन्त्री गुरुङ निजगढस्थित उद्योग वाणिज्य संघको सभाहलमा पुगेर आन्दोलनरत मिटरब्याजपीडितका प्रतिनिधिसँग वार्तामा सहभागी भएका थिए।
वार्ता स्थलमा मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी ओम अधिकारी, सशस्त्र प्रहरी बल मधेश प्रदेशका डीआईजी तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकायका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।
वार्तामा आन्दोलनरत पक्षले अघि सारेका ६ बुँदे माग, मिटरब्याज समस्या समाधान, पीडितको न्याय र आगामी कदमबारे छलफल भएको जनाइएको छ।
सरकार र आन्दोलनरत पक्षबीच माग सम्बोधनका विषयमा थप छलफल गर्ने सहमति भएपछि दोस्रो चरणको वार्ताको तयारी अघि बढाइएको छ। आन्दोलनकारीहरूले आफ्ना माग सम्बोधन नभएसम्म अभियानलाई निरन्तरता दिने बताएका छन् भने सरकारले संवादमार्फत समस्याको समाधान खोज्ने प्रतिबद्धता जनाएको छ।



