Saturday, July 11, 2026
Zenith Migration Education
Saturday, July 11, 2026

गणेश नेपालीको आत्मदाह घटनामा छानबिन गर्न रास्वपा सांसद खरेलको माग

Zenith Migration Education

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदिश खरेलले गणेश नेपालीको आत्मदाहपछि भएको मृत्युको घटनालाई सरकारले गम्भीर रूपमा लिएर निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन् ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खरेलले गणेश नेपालीको मृत्युले आफूहरूलाई स्तब्ध बनाएको भन्दै श्रद्धाञ्जली व्यक्त गरे । उनले पीडित परिवारप्रति समवेदना प्रकट गर्दै घटनाको गहिराइमा पुगेर सत्यतथ्य बाहिर ल्याउन सरकारसँग आग्रह गरे ।

उनले भने, ‘असाध्यै धेरै पीडा भयो, भावविह्वल बनायो। गणेश नेपालीको मृत्यु जुन आत्मदाहपछि भयो, यसले हामी सबैलाई स्तब्ध बनाएको छ। म उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु र परिवारमा समवेदना अर्पण गर्न चाहन्छु। यो घटना जे जसरी भयो, सरकारले यसलाई गम्भीर रूपमा लिन्छ भन्ने विश्वास लिएको छु। छानबिन राम्रोसँग गर्छ र यसको गहिराइसम्म पुगेर सत्यतथ्य पत्ता लगाएर उहाँमाथि अन्याय हुन दिँदैन, परिवारमाथि अन्याय हुन दिँदैन भन्ने विश्वास लिएको छु।’

सांसद खरेलले नेपालमा बढ्दो आत्महत्याको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै मानसिक स्वास्थ्यलाई राज्यको प्राथमिकतामा राख्नुपर्ने बताए ।

उनले भने, ‘दिनमा १८ जना मान्छे कुनै न कुनै हिसाबले मरिरहेका छन्, आत्महत्या गरिरहेका छन्। कोही झुन्डिएर मरिरहेका छन्, कोही विष खाइरहेका छन्, कसैले आत्मदाह गरिरहेका छन्, कसैले हाम फालेर ज्यान गुमाइरहेका छन्। हरेक मृत्यु हाम्रा लागि पीडादायी छ।’

उनले नेपालमा आत्महत्या रोकथाम र मानसिक स्वास्थ्यसम्बन्धी नीति, कानुन, संरचना र सेवामा थप ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।

उनका अनुसार मानसिक स्वास्थ्य समस्या ठूलो चुनौती बन्दै गएको छ । उनले भने, ‘वर्षमा ७ हजार मान्छेले आत्महत्या गरिरहेको तथ्यांक हामीसँग छ। अहिले ३ करोड जनसंख्या भनेर हामी भन्छौँ भने हाम्रो जीवनकालमा झन्डै ७० लाख नेपाली जनताले कुनै न कुनै किसिमको मानसिक स्वास्थ्य समस्या बेहोरिरहेको अवस्था छ। २५ प्रतिशत जनता आफ्नो जीवनकालको कुनै न कुनै समयमा मानसिक स्वास्थ्य समस्याबाट ग्रसित भइरहेको हुन्छ।’

उनले मानसिक स्वास्थ्यसम्बन्धी बहसलाई अब नीति र सेवासुविधासँग जोडेर अघि बढाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु