Thursday, July 2, 2026
Zenith Migration Education
Thursday, July 2, 2026

सञ्चारमन्त्री तिमिल्सिना र अष्ट्रेलियाली राजदूतबीच भेट, डिजिटल रूपान्तरणदेखि छात्रवृत्तिसम्म छलफल

Zenith Migration Education

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्टले शिष्टाचार भेटवार्ता गरेका छन्।

बुधबार मन्त्रालयमा भएको भेटमा नेपाल–अष्ट्रेलिया द्विपक्षीय सम्बन्ध, विकास साझेदारी, सञ्चार क्षेत्रको सुदृढीकरण, डिजिटल रूपान्तरण तथा संघीयताको प्रभावकारी कार्यान्वयनलगायतका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

भेटका क्रममा राजदूत अन्स्टले नेपाल र अष्ट्रेलियाबीच लामो समयदेखि विकास साझेदारका रूपमा सहकार्य हुँदै आएको उल्लेख गर्दै आगामी दिनमा सहकार्य विस्तार गर्न सकिने क्षेत्रबारे चासो व्यक्त गरे।

उनले लोकतन्त्रका आधारभूत मूल्यका रूपमा अभिव्यक्ति तथा विचार स्वतन्त्रताको संरक्षण अपरिहार्य रहेको उल्लेख गर्दै पछिल्लो समय बढ्दो गलत सूचना (मिसइन्फर्मेसन) र दुष्प्रचार (डिसइन्फर्मेसन) चुनौतीका रूपमा देखिएकाले त्यसको नियन्त्रण र व्यवस्थापनमा सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताए।

राजदूत अन्स्टले अष्ट्रेलियाले नेपालमा संघीय शासन प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि आवश्यक प्राविधिक तथा संस्थागत सहयोग जारी रहने विश्वास व्यक्त गरे।

भेटमा सञ्चारमन्त्री डा. तिमिल्सिनाले नेपाललाई अष्ट्रेलियाले उपलब्ध गराउँदै आएको विकास सहायताप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तो सहयोग निरन्तर रहने अपेक्षा व्यक्त गरे।

उनले अष्ट्रेलियाले नेपाली विद्यार्थीका लागि उपलब्ध गराउँदै आएको छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिनुका साथै थप नेपाली विद्यार्थीले उच्च शिक्षा अध्ययन गर्न सक्ने गरी छात्रवृत्तिको दायरा विस्तार गर्न आग्रह गरे।

सञ्चारमन्त्री तिमिल्सिनाले सरकारले हुलाक सेवाको आधुनिकीकरणलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिँदै यस क्षेत्रमा अष्ट्रेलियाको अनुभव, सफल अभ्यास तथा प्राविधिक सहयोग आवश्यक रहेको बताए।

उनले डिजिटल नेपाल निर्माणको लक्ष्यअनुसार सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने, डिजिटल पूर्वाधार विस्तार गर्ने तथा सूचना प्रविधिमा आधारित सेवा प्रणाली विकास गर्ने कार्यमा सरकार सक्रिय रहेको उल्लेख गर्दै डिजिटल रूपान्तरणका क्षेत्रमा पनि अष्ट्रेलियाको सहयोग अपेक्षित रहेको बताए।

साथै, नेपाल मानवअधिकार, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै स्वतन्त्र प्रेस लोकतन्त्रको आधारस्तम्भ भए पनि पत्रकारिता जिम्मेवार, उत्तरदायी, तथ्यपरक र व्यावसायिक हुनुपर्नेमा सरकार केन्द्रित रहेको उनले बताए।

उनले पत्रकारको क्षमता अभिवृद्धि, नयाँ प्रविधिको प्रयोग, डिजिटल पत्रकारिता तथा तथ्य परीक्षण (फ्याक्ट–चेकिङ) सम्बन्धी सीप विकासमा पनि सरकारको विशेष जोड रहेको जानकारी दिए।

आजको भेटवार्तामा शिक्षा, रोजगारी, पर्यटन, विकास साझेदारी तथा सांस्कृतिक आदानप्रदानमार्फत नेपाल–अष्ट्रेलिया जनस्तरको सम्बन्ध पछिल्ला वर्षमा थप सुदृढ बन्दै गएको उल्लेख गर्दै दुवै पक्षले आगामी दिनमा यसलाई अझ विस्तार गर्ने विषयमा समेत छलफल गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु