सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत सातौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको तेस्रो दिन भुवन नगरकोटी समग्रमा ११-अन्डर १ सय ९३ को स्कोरमा शीर्षस्थानमा रहेका छन्।
आज ३-अन्डर ६५ को स्कोर बनाएका भुवनले शुक्र बहादुर राईलाई ३ स्ट्रोकले पछि पारे। इभन-पार ६८ को स्कोरमा समग्रमा ८-अन्डर १ सय ९६ सहित शुक्र दोस्रो स्थानमा तल झरे। हिजो उनी भुवनसँगै संयुक्तरुपमा शीर्षस्थानमा रहेका थिए।
समग्रमा ७-अन्डर १ सय ९७ को स्कोरमा नेपाल नम्बर एक निरज तामाङ र धन बहादुर थापा संयुक्तरुपमा तेस्रो स्थानमा रहे। निरजले ६-अन्डर ६२ को उत्कृष्ट स्कोर निकाले। धनले २-अन्डर ६६ मा तेस्रो दिनको खेल सकाए।
समग्रमा ५-अन्डर १ सय ९९ सहित एमेच्योर राहुल विश्वकर्मा तथा प्रो गल्फरहरू रामे मगर र दिनेश प्रजापतिले संयुक्तरुपमा पाँचौ स्थान बाँडे। राहुलले ३-अन्डर ६५ मा तथा रामे र दिनेशले समान २-अन्डर ६६ को कार्ड बनाए।
यस्तै ६-अन्डर ६२ को उत्कृष्ट नतिजामा टंक बहादुर कार्की समग्रमा ४-अन्डर २०० सहित आठौं स्थानमा उक्लिए। समग्रमा २-अन्डर २ सय २ सहित रवि खड्का नवौं स्थानमा छन्। आज उनले २-अन्डर ६६ को स्कोर बनाए। २-ओभर ७० खेलेका भुवन कुमार रोक्का समग्रमा १-अन्डर २ सय ३ सहित दशौं स्थानमा छन्।
समग्रमा पाँचौं स्थानमा रहेका राहुल एमेच्योरतर्फ शीर्षस्थानमा छन्। उनले स्वप्निल भट्टराईलाई ५ स्ट्रोकले पछि पारे। समग्रमा इभन-पार २ सय ४ खेलेका उनले आज १-ओभर ६९ मा खेल सकाए। तेस्रो दिन १-अन्डर ६७ खेलेका कवि थापा समग्रमा ४-ओभर २ सय ८ को नतिजा तेस्रो स्थानमा छन्।
शीर्षस्थानमा एकल अग्रता बनाएका भुवनले फ्रन्ट नाइन २-अन्डर ३२ मा सकाउने क्रममा पहिलो,चौथौ र पाँचौ होलमा बर्डी प्रहार गर्दा आठौं होलमा बोगी खेपे। यसपछि १० औं र ११ औं होलमा एक-एक सट बचाए। १६ औं होलको बोगीले ब्याक नाइन १-अन्डर ३३ मा पुरा गरे।
शुक्रले फ्रन्ट र ब्याक नाइन दुवै इभन-पार ३४ मा सकाए। उनले पहिलो र चौथो होलमा एक-एक सट बचाउँदा तेस्रो र छैटौं होलमा बोगी खेपे। यसपछि १३ औं होलमा बर्डी र १६ औं होलमा बोगीको सामना गरे।
निरजले बोगी रहित फ्रन्ट नाइन खेल्दै चार बर्डी प्रहार गरे। पहिलो, दोस्रो, चौथो र आठौं होलको बर्डीले फ्रन्ट नाइन ४-अन्डर ३० मा सकाए। यसपछि १० औं , ११ औं र १३ औं होलमा बर्डीको सफलता प्राप्त गरेका उनले १६ औं होलमा एक सट खेर फाले। ब्याक नाइन २-अन्डर ३२ मा सकाए।
धनले फ्रन्ट र ब्याक नाइन १-अन्डर ३३ मा पुरा गरे। तेस्रो होलमा बोगी खेलेका उनले चौथो र आठौं होलमा बर्डी प्रहार गरे। यसपछि १४ औं र १५ औं होलमा एक-एक सट बचाउँदा १६ औं होलमा बोगी खेपे।
सूर्य नेपाल प्रालिको प्रायोजनमा पीजीए नेपालद्वारा आयोजित ७२ होलको चार दिने प्रतियोगितामा कूल ५२ खेलाडी प्रतिस्पर्धा गरिरहेका छन्।
प्रतियोगिताको कुल पुरस्कार राशी ७ लाख १० हजार रहेको छ। विजेताले १ लाख ३० हजार प्राप्त गर्नेछ। दोस्रो र तेस्रो हुने खेलाडीले क्रमश ९० हजार र ७० हजार प्राप्त गर्नेछन्।चौथो र पाँचौं हुने खेलाडीले ५५ हजार र ४६ हजार हात पार्नेछन्। साथै, उत्कृष्ट १८ मा पर्न सफल अन्य प्रोफेसनल खेलाडीले पुरस्कार प्राप्त गर्नेछन्।



