सिड्नी — पछिल्लो समय ओबर्न क्षेत्र नेपाली समुदायको बाक्लो बसोबास र व्यावसायिक गतिविधिका कारण “अष्ट्रेलियामै सानो नेपाल” जस्तै अनुभूति हुने स्थानका रूपमा परिचित बन्दै गएको छ। यहाँ नेपाली व्यवसायीहरूले ग्रोसरी, रेस्टुरेन्ट, स्ट्रिट फुड, कपडा तथा गहनालगायत विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका छन्, जहाँ नेपालमा पाइने स्वाद, संस्कृति र आफ्नोपन सहजै अनुभव गर्न सकिन्छ।
यही ओबर्न क्षेत्रमा डेढ दशकदेखि नेपाली स्वाद पस्किँदै आएको पुरानो र परिचित नाम ‘सम्बन्ध नेपाली रेस्टुरेन्ट’ नयाँ संरचना, आधुनिक व्यवस्थापन र थप नेपाली परिकारसहित पुनः सञ्चालनमा आएको छ। पहिले सञ्चालन हुँदै आएको स्थानमै नयाँ स्वरूपमा रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको हो।
रेस्टुरेन्ट सञ्चालक मिरा गुरुङका अनुसार समयअनुसार ग्राहकको चाहना र सुविधालाई ध्यानमा राख्दै रेस्टुरेन्टलाई थप व्यवस्थित, आकर्षक र पारिवारिक वातावरणमैत्री बनाइएको छ। “पहिलेको स्वाद र विश्वासलाई कायम राख्दै नयाँ अनुभव दिने प्रयास गरेका छौँ,” उनले भनिन्।
रेस्टुरेन्टमा अनुभवी कुक अफजल अन्सारीको नेतृत्वमा नेपाली परम्परागत स्वाददेखि आधुनिक स्ट्रीट फुड शैलीसम्मका विभिन्न परिकार तयार गरिँदै आएको छ। विशेषगरी विभिन्न प्रकारका मोमो, चिल्ली मोमो, कोथे मोमो, चाउमिन, फ्राइड राइस, थुक्पा, सेकुवा, नेपाली थाली, बिरयानी, छोईला, सुकुटी सेट, भुटन, लाफिङ, पानीपुरी, समोसा चाट, चटपटेलगायतका नेपाली लोकप्रिय परिकार ग्राहकबीच आकर्षणको केन्द्र बनेका छन्।
यसका साथै “Chef’s Special” अन्तर्गत तयार गरिएका सुकुटी सेट, छोईला सेट तथा नेपाली खाजा परिकारले पनि ग्राहकको ध्यान तान्न थालेको सञ्चालक पक्षले जनाएको छ। परिवारसहित आउने ग्राहकलाई लक्षित गर्दै बालबालिकाका लागि विशेष “Kids Meal” समेत उपलब्ध गराइएको छ।
पुनः सञ्चालनसँगै ग्राहकको भीड बढ्न थालेको भन्दै सञ्चालक डंगोलले खुसी व्यक्त गरेकी छन्। “पुराना ग्राहक फेरि फर्किनुभएको छ, नयाँ ग्राहक पनि बढ्दै जानुभएको छ,” उनले भनिन्, “यसले हामीलाई अझ राम्रो सेवा दिन प्रेरणा मिलेको छ।”
विशेषगरी सिड्नी क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका लागि ‘सम्बन्ध’ केवल एउटा रेस्टुरेन्ट मात्र होइन, नेपाली स्वाद, आत्मीय भेटघाट र आफ्नोपनको अनुभूति दिलाउने भावनात्मक थलोका रूपमा परिचित बन्दै गएको स्थानीयहरू बताउँछन्।
📍 सम्बन्ध नेपाली रेस्टुरेन्ट
Shop 17, 57–59 Queen Street, Auburn NSW 2144



