सिड्नी — गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले विश्वभर फैलिएका नेपाली उद्यमी, व्यवसायी, पेशेवर तथा नवप्रवर्तकलाई एउटै मञ्चमा जोड्ने उद्देश्यसहित ‘National Entrepreneur Conference 2026’ आयोजना गर्ने भएको छ। सम्मेलन मे ९ मा Hyatt Regency Sydney मा हुने आयोजकले जनाएको छ।


बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने सम्मेलनको मूल नारा ‘Connect – Inspire – Grow’ राखिएको छ। सम्मेलनमा नेपाल र अष्ट्रेलियाका प्रतिष्ठित व्यक्तित्वहरू वक्ताका रूपमा सहभागी हुनेछन्।
नेपालका प्रख्यात बैंकर तथा उद्यम नेतृत्वकर्ता Anil Keshary Shah प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्। हाल Lead Nepal Inc. का अध्यक्ष रहेका शाह यसअघि Nabil Bank र Mega Bank Nepal का प्रमुख कार्यकारी अधिकृत भइसकेका छन्। उनले ‘From Remittance to Investment: Unlocking Diaspora Capital for Economic Growth’ विषयमा प्रस्तुति दिँदै रेमिटेन्सलाई उत्पादनमुखी लगानीमा रूपान्तरण गर्ने सम्भावनाबारे धारणा राख्नेछन्।


सम्मेलनमा सहभागी हुन शाह बिहीबार सिड्नी आइपुगेका छन्। उनलाई स्वागत गर्न NRNA Australia का कोषाध्यक्ष निजन चौलागाईंलगायतका पदाधिकारी तथा अभियन्ता Sydney International Airport पुगेका थिए।


त्यसैगरी, अष्ट्रेलियाकी सञ्चार विज्ञ तथा ब्रडकास्टर Olympia Kwitowski ले ‘No One Will Tell Your Story Better Than You’ शीर्षकमा सत्र सञ्चालन गर्नेछिन्। उक्त सत्रमा व्यक्तिगत ब्रान्ड निर्माण, प्रभावकारी प्रस्तुति र आफ्ना अनुभव तथा कथालाई सशक्त ढंगले प्रस्तुत गर्ने सीपबारे प्रशिक्षण दिइने जनाइएको छ।
जोखिम व्यवस्थापनका अन्तर्राष्ट्रिय विज्ञ Enrico Pecora ले स्मार्ट रिस्क म्यानेजमेन्टमार्फत व्यवसायिक जोखिम न्यूनीकरण र प्रतिस्पर्धात्मक लाभ वृद्धि गर्ने विषयमा अनुभव साझा गर्नेछन्।


सम्मेलन अवधिभर प्यानल छलफल, अन्तरक्रियात्मक सत्र तथा नेटवर्किङ कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ।
NRNA Australia का कोषाध्यक्ष निजन चौलागाईंले यसपटकको सम्मेलन नेपाली उद्यमी तथा पेशेवर समुदायबीच सहकार्य र अनुभव आदान–प्रदानको प्रभावकारी मञ्च बन्ने विश्वास व्यक्त गरे।


आयोजकका अनुसार क्याटरिङ तथा सिट व्यवस्थापनका कारण सम्मेलनमा सहभागी हुन अग्रिम दर्ता अनिवार्य गरिएको छ।



