राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा जेनजी आन्दोलनका अगुवा सुधन गुरुङ गृहमन्त्री चैत १३ गते बने । सुधन गुरुङ गृहमन्त्री नियुक्त भएको एक साताभित्रै उच्च–प्रोफाइल व्यक्तिहरूको धमाधम पक्राउसँगै सरकार आक्रामक कार्यशैलीमा उत्रिएको छ ।
१३ गते नियुक्त भएर २० गतेसम्म एकहप्तामा आइपुग्दा गृहमन्त्रीले सात जनालाई प्रकाउ गरेका छन् । उनी हिन्दी फिल्म झै एक्सनमा उत्रिएर काम गरिरहेका छन् ।
बालेन्द्र शाह नेतृत्वको सरकारमा शक्तिशाली मानिने गृह मन्त्रालयको नेतृत्वमा सुधन गुरुङको नाम प्रस्तावका रूपमा सार्वजनिक हुँदा धरैले आश्चर्य मानेका थिए ।
नमानून् पनि किन, ‘सांसद्हरूलाई तलबै नदिऊँ है’ भन्दै उनले दिएका अभिव्यक्ति त कहिले पत्रकार सम्मेलनमा ‘हाम्रो एजेन्डा के रे.’ भन्दै सोधेको पृष्ठभूमि । सार्वजनिक भएका यस्तै यस्तै स–साना दृश्यका कारण सुधनलाई गृहमन्त्रीका रूपमा अघि सारिएकोमा धेरैले आश्चर्य व्यक्त गरेका थिए । कुनैबेला संविधान संशोधनका विषयमा दिएको एक अभिव्यक्ति पनि धेरैले चासोका साथ लिएका थिए ।
तर, गृहमन्त्री नियुक्त भएपछिका एक सातामा उनले आफूमाथि उठेका हरेक प्रश्नको जवाफ कामबाट दिने प्रयास गरिरहेका छन् । तर उनले लिएका कदमहरु ‘प्रतिशोध’,‘पूर्वाग्रही’ र ऐन–कानुनसँग बाझिने किसिमका भएको भनेर आलोचना समेत भइरहेको छ ।
पहिलेको सरकारका पालामा अड्किएका अनुसन्धानका फाइलहरू उनले धमाधम खोलिरहेका छन् । जसले ‘हाइ–प्रोफाइल’हरुलाई टाउको दुखाइ बनेको छ ।
गृहमन्त्रीको एक हप्ता
चैत १३ गते (नियुक्ति दिन)
गृहमन्त्री नियुक्त भएकै दिन गुरुङले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गर्न निर्देशन दिए ।
चैत १४ गते (शनिबार)
चैत १४ गते केपी ओली र रमेश लेखकलाई निवासबाट पक्राउ गरियो । प्रकाउ गर्दा केहीबेर ओली निवासमा तनाव सिर्जना भयो भने लेखक स्वेच्छाले उपस्थित भए । पक्राउ नहुँदासम्म गुरुङ प्रहरी मुख्यालयमै बसेर निर्देशन दिइरहेका थिए । सोही दिन जावलाखेल र सातदोबाटोमा निरीक्षण गर्दै एमाले नेता कर्णबहादुर मल्ललाई समेत पक्राउ गरियो ।
चैत १५ गते (आइतबार)
चैत १५ गते आइतबार गुरुङले सिंहदरबारस्थित क्यान्टिनमा पुगेर सर्वसाधारणसँग भेटघाट गरे, अनौपचारिक रूपमा संवाद गर्दै ‘भीआईपी शैली’ अन्त्यको संकेत दिए । १५ गते नै कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई समेत पक्राउ गर्न आदेश दिए ।
चैत १६ गते (सोमबार)
चैत १६ गते सोमबार प्रहरी प्रधान कार्यालय निरीक्षण गर्न पुगे । निरीक्षणका क्रममा उनले तल्लो तहका प्रहरीको समस्या सुन्दै तलब, पोषण र सरुवा प्रणाली सुधार गर्ने प्रतिबद्धता जनाए ।
चैत १७ गते (मंगलबार)
चैत १७ गते (मंगलबार) ओलीको रिहाई गर्न माग राख्दै प्रदर्शनका क्रममा दुव्र्यवहारमा परेका ज्येष्ठ नागरिकलाई भेट्न उनी घरमै पुगे । घटनामा संलग्न व्यक्तिलाई समेत पक्राउ गरियो ।
चैत १८ गते (बुधबार)
चैत १८ गते (बुधबार) केपी शर्मा ओली र रमेश लेखक सम्बन्धी अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरमा पुगेर उनले प्रत्यक्ष अनुगमन गरे ।
चैत १९ गते (बिहीबार)
चैत १९ गते (बिहीबार) पशुपतिनाथ मन्दिर दर्शनका क्रममा उनले सर्वसाधारणलाई प्राथमिकता दिँदै सवारी व्यवस्थापनमा आफैं संलग्न भए । त्यसपछि संसद् बैठकमा उपस्थित भइ अध्यादेशहरू पेस गरे ।
चैत २० गते (शुक्रबार)
चैत २० गते (शुक्रबार) घाइते आन्दोलनकारीलाई केएमसी अस्पतालमै पुगेर भेटे । सोही दिन सामाजिक सञ्जालमा विश्रामको तस्बिर पोस्ट गर्दै ‘जनताभन्दा माथि सरकार हुँदैन’ सन्देश दिए ।
गुरुङ गृहमन्त्री भएपछि प्रकाउ परेका ‘हाइ–प्रोफाइल’हरु
१.केपी शर्मा ओली–पूर्वप्रधानमन्त्री
२. रमेश लेखक–पूर्वगृहमन्त्री
३. कर्ण मल्ल–एमाले नेता
४. रेखा शर्मा–एमाले नेता
५. दीपक खड्का–पूर्वउर्जामन्त्री
६. छवि रिजाल–काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी



