काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन ‘देश बनाउने र देश जलाउने’ शक्तिहरूबीचको महासंग्राम भएको बताएका छन्।
झापाको दमकमा धिमाल समुदायका अगुवासँगको भेटघाटमा बोल्दै अध्यक्ष ओलीले निर्वाचन केवल प्रतिनिधि छान्ने विषय मात्र नभई धिमाल समुदायको विकासका लागि बजेट राख्ने र भएका बजेट काट्नेहरूबीचको प्रतिस्पर्धा भएको बताए। आफू नेतृत्वको सरकारले धिमाल समुदायका लागि संग्रहालय, होमस्टे र सडक निर्माणका लागि छुट्याएको करोडौँ रुपैयाँ बजेट वर्तमान सरकारले अनधिकृत रूपमा काटेको भन्दै उनले आक्रोश व्यक्त गरे। वर्तमान सत्ता गठबन्धनले विकासविरोधी काम गरेको उनको आरोप थियो।
धिमाल समुदायलाई सम्बोधन गर्दै ओलीले भने, “यसपटकको चुनाव देश बनाउने कि जलाउने शक्तिहरूबीचको चुनाव हो। हामीले बिगार्ने र जलाउने खालकालाई भोट दिनु हुँदैन, बनाउने खालकालाई दिनुपर्छ। यस ठाउँमा भने धिमाल समुदायका लागि विकास बजेट राख्ने र बजेट काट्नेहरूबीचको चुनाव पनि हो।’’
यहाँको चिया बगान गेटबाट उत्तरतर्फ जाने बाटोका लागि तीन करोड रुपैयाँ छुट्याइएको थियो, जुन एडीबीमार्फत निर्माण गर्ने योजना थियो। तर म सरकारबाट हटेपछि त्यो योजना र बजेट दुवै काटियो। २१ गतेको निर्वाचनपछि हाम्रो नेतृत्वमा सरकार बनेमा त्यो बजेट फेरि ल्याइनेछ।
उनले ग्रामथान तथा संग्रहालय विकासका लागि केन्द्रबाट तीन करोड रुपैयाँ छुट्याइएको र धिमाल होमस्टेका लागि पनि तीन करोड रुपैयाँ विनियोजन गरिएको स्मरण गराउँदै ती सबै बजेट वर्तमान सरकारले काटेको दाबी गरे। “केपी ओलीसँग प्रतिस्पर्धा गर्न आएको भन्दै चुनावमा उत्रिएका उम्मेदवारहरू यही बजेट काट्ने समूहकै हुन्, त्यसैले यस्तालाई झुक्किएर पनि साथ दिनु हुँदैन,” उनले भने।
अध्यक्ष ओलीले धिमाल समुदायलाई ‘धर्तीपुत्र’ र ‘प्रथम नागरिक’ को संज्ञा दिँदै उनीहरूको पहिचान मेटाउन खोजिएको आरोप पनि लगाए। आफू २०२० सालदेखि नै धिमाल समुदायसँग निकट रहेको उल्लेख गर्दै वि.सं. २०५१ सालमा गृहमन्त्री हुँदा धिमाल जातीय विकास केन्द्रका नाममा संग्रहालय र उद्योग सञ्चालन गर्न १० बिघा जमिन भोगाधिकार दिएको तथ्य पनि उनले स्मरण गरे।
धिमाल समुदायबाट शिक्षित युवाहरू नेतृत्वमा आउन थालेकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा राज्यका विभिन्न निकायमा उनीहरूको उपयुक्त प्रतिनिधित्व सुनिश्चित गर्न एमालेले विशेष ध्यान दिने उनले बताए। शिक्षा, स्वास्थ्य र मौलिक पहिचानको संरक्षण नै आफ्नो मुख्य एजेण्डा रहेको उल्लेख गर्दै उनले कसैको भ्रममा नपर्न आग्रह गरे।



